म्यानचेस्टर डर्बीः युनाइटेडलाई रोनाल्डोको भर, सिटीलाई डर
काठमाडौँ- गत मंगलबार राति म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा एटलान्टासँग बराबरी खेल्यो । इटालियन टिमविरुद्ध युनाइटेड दुई पटक पछाडि परेको थियो । तर क्रिस्टियानो रोनाल्डाले युनाइटेडको उद्धार गरे । खेलपछि आफ्ना पाको स्टार रोनाल्डोको तारिफ गर्न भुलेनन्, ओले गनर सोल्स्यारले । रोनाल्डो आफ्नो टिमको माइकल जोर्डन भएको सोल्स्यारको प्रतिक्रिया थियो ।
च्याम्पियन्स लिगमा हारबाट जोगिएको युनाइटेडले यो साता अर्को परीक्षाको सामना गर्दैछ । म्यानचेस्टर डर्बीका लागि युनाइटेडले शनिबार च्याम्पियन म्यानचेस्टर सिटीलाई ओल्ड ट्राफोर्डमा स्वागत गर्ने पूर्वतालिका छ ।
लिभरपुलसँग आफ्नै मैदानमा लज्जास्पद पराजय भोगेपछि दबाबमा परेका सोल्स्यारको पद पूर्णरुपमा सुरक्षित छैन । गत साता टोटनहमलाई पराजित गरेपछि सोल्स्यारले केही हदसम्म राहत महशुस गरेका छन् । तर म्यानेचस्टर डर्बीमा नकारात्मक नतिजा निस्किए, सोल्स्यार फेरि अप्ठेरोमा पर्ने छन् । उपाधि दाबेदारका रुपमा सिजनको सुरुवात गरेको युनाइटेड हाल अंक तालिकाको पाँचौँ स्थानमा छ । युनाइटेडले १० खेलबाट १७ अंक बटुलेको छ । आर्सनलको पनि उत्ति नै अंक छ । तर गोल भिन्नताका आधारमा आर्सनल छैटो स्थानमा छ ।
युनाइटेडको प्रतिद्वन्द्वी सिटीले भने च्याम्पियन्स लिगमा क्लब ब्रगलाई ४–१ ले पन्छाएको थियो । प्रिमियर लिगमा भने सिटीले आफ्नो पछिल्लो खेलमा क्रिस्टल प्यालेससँग अप्रत्याशित पराजय भोगेको थियो । प्यालेससँग खेलेको दुई दिनअघि काराबाओ कपमा पनि सिटी पराजित भएको थियो । पेप ग्वार्डिओलाको टिमलाई वेस्टह्यामले हारको स्वाद चखाएको थियो । यसकारण युनाइटेडसँगको खेलअघि ग्वार्डिओला संयमित देखिएका छन् ।
‘युनाइटेसँग फुटबल इतिहासकै उत्कृष्ट खेलाडीमध्येका एक छन् । जसले आफ्नै बलबुतामा युनाइटेडलाई कुनै पनि खेल जिताउन सक्छन् । रोनाल्डो कुन स्तरका फिनिसर हुन्, हामी सबैलाई थाहा छ । यसकारण उनलाई रोक्ने योजना हामीले बनाएका छौँ ।,’ ग्वार्डिओलाले भने ।
सर्जियो अग्वेरोले क्लब छाडेपछि ग्वार्डिओलाले फल्स नाइनको उपयोग गर्दै आएका छन् । यस भूमिकामा फिल फोडन देखिने गरेका छन् । उनले जारी सिजन तीन लिग गोल गरिसकेका छन् । उनका अलावा फेरान टोरेसलाई पनि ग्वार्डिओलाले फल्स नाइनमा रुपान्तरण गरेका छन् । तर टोरेस हाल मैदान बाहिर छन् । म्यानचेस्टर डर्बीमा पनि फोडनले नै सिटीको आक्रामण सम्हाल्ने अनुमान गरिएको छ ।
उसो त रहिम स्टर्लिङ पनि सहरी प्रतिद्वन्द्वीविरुद्ध निर्णायक सावित हुन सक्छन् । ब्रगविरुद्ध गोल गरेका स्टर्लिङले आफ्नो स्वभाविक लयमा फर्कने संकेत गरेका छन् । लिगमा जम्मा एक गोल गरेका स्टर्लिङको लयलाई लिएर प्रशन उठ्दै आइरहेको छ । युनाइटेडसँगकाृ भिडन्त स्टर्लिङका लागि आफूलाई पुनः प्रमाणित गर्ने मौका बन्न सक्छ ।
उता युनाइटेडका लागि राफाएल भारानको चोट चिन्ताको विषय बनेको छ । एटलान्टासँगको खेल दौरान भारान घाइते भएका थिए । उनी अझैँ एक महिना मैदान बाहिरै रहने युनाइटेडले बताइसकेको छ । यसै सिजन रियल म्याड्रिडबाट ओल्ड ट्राफोर्ड पुगेका रक्षक भारानलाई युनाइटेडले महत्वपूर्ण खेलाडी मानेको छ । भारानसँगै एउटै ‘ट्रान्सफर विन्डो’मा अनुबन्धित भएको जेडोन सान्चोको भूमिकामाथि पनि प्रश्न उठिरहेको छ ।
बोरुसिया डर्टमन्डमा चम्केका सान्चोले युनाइटेडमा भने खेल्ने मौका कम पाइरहेका छन् । ‘युनाइटेडमा पहिलो एघार छनौट गर्न सजिलो छैन । किनभने राम्रा खेलाडीहरू पनि छुटिरहेका हुन्छन् । जेडोन यहाँ धेरै वर्ष रहनेछन् । भविष्यमा उनले यो क्लबमा उल्लेख्य भूमिका निर्वाह गर्नेछन् ।,’ सान्चोका विषयमा सोधिएको प्रश्नमा सोल्स्यारको जवाफ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया