फुटबल

बुन्डेसलिगा: सर्वाधिक गोल गरेको बायर्नको भेट कम गोल खाएको फ्राइबर्गसँग

इकागज |
कात्तिक १९, २०७८ शुक्रबार १८:३५ बजे

काठमाडौँ- जर्मन बुन्डेसलिगामा यो सिजन सबैभन्दा बढी गोल गर्ने टिम बायर्न म्युनिख हो । गत सिजनको च्याम्पियन बायर्नले यसपाली ३८ गोल गरिसकेको छ । बुन्डेसलिगाको इतिहासमा सुरुवाती १० खेलमा यत्तिको संख्यामा गोल कुनै पनि टिमले गर्न सकेको थिएन । 

बायर्नको अट्याकपछि अब फ्राइबर्गको डिफेन्सको कुरा गरौँ । बुन्डेसलिगामा फ्राइबर्गको डिफेन्स सबैभन्दा बलियो देखिएको छ । फ्राइबर्गले १० खेलमा जम्मा सात गोल खाएको छ । जुन लिग लिडर बायर्नको भन्दा तीन गोल कम हो । बुन्डेसलिगामा शनिबार यी दुई टिम आमनेसमाने हुँदैछन् । 


बुन्डेसलिगामा बायर्न र फ्राइबर्गको परिचय एक आपसको भन्दा बिलकुलै फरक छ । बायर्न अन्य क्लबका स्टार खेलाडी खोस्‍न माहिर मानिन्छ भने फ्राइबर्ग चाहिँ आफ्नो मुख्य खेलाडी बिक्रि गर्न । यसो हुँदाहुँदै पनि फ्राइबर्गको अहिलेको टिम बलियो देखिएको छ । र, बुन्डेसलिगामा अपराजित रहने एक्लो टिम बनेको छ । 

उता बायर्नले भने यसपाली एउटा लिग खेल गुमाएको छ । योभन्दा चिन्ताको विषय चाहिँ उसको रक्षापंक्ति बनेको छ । गएका तीन खेलमा बायर्नले नौ गोल खाएको छ । जर्मन कपमा बोरुसिया मन्चुनग्लाडबागसँगको खेलमा त बायर्नले पाँच गोल खायो । बायर्नले सजिलै गोल खाइरहेको भए पनि फ्राइबर्गका प्रशिक्षकले लिग च्याम्पियनलाई कमजार आँकेका छैनन् । 

हुन पनि म्युनिखमा बायर्नलाई फ्राइबर्गले हराउन सकेको छैन । आलियान्ज ऐरेनामा फ्राइबर्गले निकालेको बलियो नतिजा भनेको बराबरी नै हो । फ्राइबर्गले पछिल्लो पटक नोभेम्बर, २०१९ मा बायर्नलाई उसकै मैदानमा १–१ को बराबरीमा रोक्न सफल भएको थियो । 

‘यसपाली हामी बायर्नको सामना गर्दा दबाबमा हुने छैनौँ । उसलाई हामी बलियो चुनौती दिनेछौँ । हाम्रो लडाइ अन्तिम मिनेटसम्म जारी रहनेछ ।,’ फ्राइबर्गका प्रशिक्षक क्रिस्टियन स्ट्राइचले भने ।

सर्वाधिक कम गोल खाएको फ्राइबर्गको रक्षापंक्ति शनिबार कठिन परीक्षाबाट गुज्रिनेछ । किनभने फ्राइबर्गका रक्षकहरूले रोबर्ट लेवान्डोस्कीलाई रोक्न सक्नुपर्नेछ । ३३ वर्षिय लेवान्डोस्कीले यो सिजन २० गोल गरिसकेका छन् । बुन्डेसलिगामा मत्रै उनले १२ गोल गरेका छन् । गत सिजन गर्ड मुलरको गोल कीर्तिमान भंग गरेका लेवान्डोस्की यो सिजन पनि उही लयमा छन् । 


Author

थप समाचार
x