फुटबल

युनाइटेडको समस्या समाधान गर्न सक्षम छुः सोल्स्यार

इकागज |
कात्तिक २१, २०७८ आइतबार १३:३९ बजे

काठमाडौँ- म्यानचेस्टर डर्बीमा शनिबार म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित भयो । सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँगको हारले युनाइटेड इंग्लिस प्रिमियर लिगकाे अ‌ंक तालिकामा पाँचौँ स्थानमा सीमित भएको छ । जारी सिजन चार खेलमा हार बेहोरिसकेको युनाइटेडको ११ खेलबाट १७ अंक छ । छैटो स्थानमा रहेको ब्राइटन र सातौँ स्थानको आर्सनलको पनि १७–१७ अंक नै छ । यस्तोमा चौथो स्थानका लागि हुने भिडन्त कडा हुने देखिएको छ । 

उपाधि दाबेदारका रुपमा सिजनको सुरुवात गरेको युनाइटेड अन्य ठूला क्लबभन्दा निकै पछाडि छ । यसकारण प्रशिक्षक ओले गनर सोल्स्यार निरन्तर दबाबमा छन् । ओल्ड ट्राफोर्डमा केही साताअघि लिभरपुलसँग पराजित भएदेखि नै सोल्स्यारलाई बर्खास्त गर्नुपर्ने माग उठिरहेको छ । यद्यपि सोल्स्यारले भने आफू युनाइटेडको लयमा सुधार ल्याउन सक्षम रहेको दाबी गरेका छन् । 


तर फेरि एक पटक चिरपरिचित प्रतिद्वन्द्वीसँग घरमै हारेपछि सोल्स्यारको क्षमतामाथि प्रश्‍न उठेको छ । ‘युनाइटेडले अहिलेको भन्दा राम्रो प्रदर्शन गर्नुपर्छ भन्नेमा शंका छैन । टिमको लयमा सुधार ल्याउन म प्रतिबद्ध छु । हामी असाध्यै कठिन मोडमा छौँ । खेल शैलीमा होस् वा संरचनामा, सबै पक्षमा सुधार गर्नुपर्ने देखिएको छ ।,’ सोल्स्यारले भनेका छन् । 

आउँदा साताहरूमा युनाइटेडको प्रदर्शनमा सुधार आउने विश्वास पनि सोल्स्यारले व्यक्त गरेका छन् । तर यसका लागि युनाइटेडले आक्रामक खेल देखाउनु पर्ने उनको भनाइ थियो । ‘हामी थप आक्रामक हुनुपर्ने देखिएको छ । टोटनहम र एटलान्टासँगको खेलमा हामी उर्जावान देखियौँ । तर अन्य खेलमा हामी फेरि सुस्तायौँ । हामीले आफ्नो पहिचान निर्माण गर्नुपर्छ र त्यसमै अडिग हुुनुपर्छ ।’


Author

थप समाचार
x