फुटबल

एकेडेमीको बलमा ‘लिग लिडर’ बनेको रियल सोसिडाड

इकागज |
कात्तिक २३, २०७८ मंगलबार ७:८ बजे

काठमाडौँ - स्पेनिस ला लिगामा सर्वाधिक सफल क्लब हुन्, रियल म्याड्रिड र बार्सिलोना । समर्थक संख्याका आधारमा पनि रियल र बार्सिलोना अन्य स्पेनिस क्लबभन्दा अगाडि छन् । यी दुईलाई नजिकबाट टक्कर दिने कुनै अर्को क्लब छ भने, त्यो एट्लेटिको म्याड्रिड हो । जब जब रियल र बार्सिलोना उपाधि होडमा पछाडि पर्छन्, तब एट्लेटिको च्याम्पियन बन्ने गरेको छ । कमसेकम पछिल्ला वर्षहरूले यही देखाएको छ । यसपाली भने स्पेनिस ला–लिगामा फरक दृश्य देखिएको छ । ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा रियल सोसिडाड छ । 

हुन त सोसिडाडले रियल र तेस्रो स्थानको सेभियाभन्दा एक खेल बढी खेलेको छ । अनि लिगमा आधा खेल पनि सकिएका छैनन् । यद्यपि सोसिडाडले आफूलाई अब्बल सावित गरिरहेको छ, जसकारण उसलाई सम्भावित च्याम्पियनको सूचीबाट हटाउन सकिने अवस्था छैन । 


यो साता पनि सोसिडाडले आफ्नो बलियो लय कायम राख्यो । रियलले रायो भाएकानोमाथि जित निकाल्न संघर्ष गर्दा सोसिडाडले ओसासुनालाई सजिलै पराजित गर्‍यो । उता बार्सिलोना भने सेल्टा भिगोसँग बराबरीमा रोकिएको थियो । ओसासुनाविरुद्धको जितको सहयोगमा सोसिडाडले रियलसँग दूरी कायम राख्न सक्यो । 

सोसिडाडको वर्तमान लयमा उसको एकेडेमीको भूमिका महत्वपूर्ण छ । सोसिडाडको रिजर्भ टिम हो, सोसिडाड बी । जो सोसिडाड एकेडेमीको मुख्य टिम हो । यो टिम स्पेनको दोस्रो श्रेणीको लिग खेल्छ । यसको प्रशिक्षक हुन्, जाबी अलोन्सो । उनले दुई दशकअघि सोसिडाडबाट खेल करियर सुरु गरेका थिए । सन् २००२–०३ मा ला–लिगा उपाधि दौडमा रियलसँग दुई अंकले पछि परेको सोसिडाड टिमका मुख्य मिडफिल्डर यीनै अलोन्सो थिए । 

अलोन्सो स्पेनको बास्क क्षेत्रको सान सेबास्टियन क्षेत्रमा जन्मिए । यही ठाउँको क्लब सोसिडाडको एकेडेमीमा भर्ती भए । अनि सिनियर टिमको कप्तानी पनि गरे । कुनैबेला अलोन्सोका पिता पनि सोसिडाडकै खेलाडी थिए । उनले त सोसिडाडबाट लिग पनि जिते । अलोन्सो आफैँले चाहिँ सोसिडाडबाट लिग नजिते पनि भविष्यमा लिग जित्न सक्ने खेलाडी तयार पार्दैछन् । 

सोसिडाडले यो सिजनको लिगको सुरुवात हारबाट गरेको थियो । पहिलो खेलमा बार्सिलोनासाग पराजय बेहोरे पनि त्यसयता सोसिडाडलाई कुनै टिमले हराउन सकेको छैन । मध्य अक्टोबरमा त सोसिडाड पहिलो स्थानमै पुग्यो । १० खेलाडीमा सीमित भएर पनि मयोर्कालाई हराएपछि सोसिडाड शीर्ष स्थानमा उक्लेको थियो । त्यस खेलमा जुलेन लोबेटेले ९० औँ मिनेटमा गोल गरे । उनी दोस्रो हाफमा मैदान छिरेका थिए । 

मयोर्काविरुद्धको दोस्रो हाफ सोसिडाडले १० खेलाडीमै पूरा गर्‍यो । मैदानमा रहेका १० खेलाडीमध्ये सात सोसिडाड एकेडेमीकै उत्पादन हुन् । सोसिडाडका बाँकी खेलाडीमध्ये प्राय स्पेनकै छन् । कप्तान मिकेल ओयार्जबल एइबार सहरका हुन् । तर उनी १४ वर्षको उमेरमै सोसिडाड पुगेका थिए । ओयार्जबलको गृहसहर गिपुज्कोआ प्रान्तमा पर्छ । यो प्रान्त स्पेनकै सबैभन्दा सानो प्रान्त हो । र, यो प्रान्त पनि बास्क क्षेत्रकै अंग हो । बास्क उत्तरी स्पेनमा रहेको स्वायत्त क्षेत्र हो । जहाँ गिपुज्कोआबाहेक अलाभा र बिस्केय प्रान्त छन् । सान सेबास्टियन सहर गिपुज्कोआको राजधानी हो । अनि सोसिडाड चाहिँ सेबास्टियनको क्लब हो । 

सोसिडाडका स्काउटहरू बास्क क्षेत्रमा निकै सक्रिय रहन्छन् । तर सोसिडाड चाहन्छ, एकेडेमीसँग आबद्ध हुने खेलाडीमध्ये ८० प्रतिशत गिपुज्कोआ प्रान्तकै रहुन् । अनि बाँकी २० प्रतिशत चाहिँ बास्क क्षेत्रकै अन्य प्रान्त, वा बास्क बाहिरको प्रान्त नाभाराबाट होउन् भन्ने इच्छा सोसिडाड एकेडेमी निर्देशक लुकी इरियार्टेको रहन्छ । कतिपय खेलाडी त फ्रेन्च पनि हुन्छन् । किनभने फ्रान्स गिपुज्कोआबाट ५० किलोमिटर मात्रै टाढा छ । यसरी भेला पारिएका किशोर खेलाडीहरूले सोसिडाड सिनियर टिमको आधा सिट ओगट्छन् । 

यही रणनीतिको देन भन्नुपर्छ, सोसिडाड सिनियर टिममा रहेका १६ खेलाडी क्लबको एकेडेमी हुँदै त्यहाँसम्म पुगेका हुन् । यसै सिजन मात्रै पनि सोसिडाड ‘बी’बाट दोस्रो श्रेणीको लिगका लागि दर्ता भएका चार खेलाडी सिनियर टिममा बढुवा भएका छन् । रिजर्भ टिमबाट सिनियर टिममा पुग्दा युवा खेलाडीहरू उत्साहित देखिए पनि अलोन्सो भने मारमा पर्ने गरेका छन् । किनभने उनी नेतृत्वको सोसिडाड दोस्रो श्रेणीको सेगुन्डाबाट रेलिगेट नहुन भरमग्दुर प्रयास गरिरहेको छ । तर टिमका मुख्य खेलाडी सिनियर टिममा तानिँदा, अलोन्सोको लक्ष्य पूरा हुने सम्भावना न्यून छ । 

ला–लिगा २ पनि भनिने सेगुन्डा लिगमा कुल २२ क्लब छन् । तीमध्ये पहिलो श्रेणीमा रहेका क्लबमध्ये सोसिडाडको रिजर्भ टिममात्रै दोस्रो श्रेणीको लिगमा छ । रियल, बार्सिलोना लगायतका रिजर्भ टिम भने तेस्रो श्रेणीको लिग प्रिमेरा डिभिजन आरएफईएफमा छन् । यो सिजन उही लय कायम रहे, सोसिडाड पनि तेस्रो श्रेणीमा झर्नसक्छ । तर यसले अलन्सोलाई आफ्नो कामबाट विचलित गराएको छैन । न त सोसिडाडका स्पोर्टिङ निर्देशक रोबर्टो ओलाबे नै चिन्तित छन् । 

‘सोसिडाड बी हाम्रा लागि ज्यादै महत्वपूर्ण छ । किनभने यहाँ हामी सिनियर टिमका लागि भनेर खेलाडी तयार पाछौँ । पूर्ण व्यवसायिक खेलाडी बन्ने चाहना राखेका किशोरहरूका लागि पनि रिजर्भ टिम पाठशाला हो । उनीहरूले स्तरीय टिमसँग प्रतिस्पर्धा गर्न सकुन् भनेर सोसिडाड बी सेगुन्डामै रहोस् भन्ने हाम्रो चाहना हो । तर सोसिडाड तेस्रो श्रेणीमा झरे पनि हाम्रो लक्ष्यमा बाधा उत्पन्न हुँदैन,’ ओलाबे भन्छन् । 

रोचक के छ भने, सोसिडाडमा उमेर समूहका प्रत्येक टिमका प्रशिक्षकहरू क्लबकै पूर्वखेलाडी हुन् । अरु त अरु हाल सिनियर टिमका प्रशिक्षक रहेका इमानोल अल्गुआसिल पनि सोसिडाडकै पूर्वखेलाडी हुन् । सोसिडाका पूर्वरक्षक रहेका अल्गुआसिल अण्डर १७ र सोसिडाड बीको प्रशिक्षक हुँदै अहिलेको स्थानसम्म पुगेका हुन् । 

अल्गुआसिलका सहायक मिकेल लाबाका र जोन अन्सोटुगुईसँग पनि सोसिडाडबाट खेलेको अनुभव छ । सोसिडाड बीका प्रशिक्षक अलन्सो त पूर्वकप्तान नै भइगए । अनि सोसिडाड सीका प्रशिक्षक सर्जियो फ्रान्सिस्को पनि यही क्लबका उत्पादन हुन् । महिला टिमकी प्रशिक्षक नाटालिया अरोयोले पनि कुनैबेला सोसिडाडको महिला टिमबाट खेलेकी थिइन् भने निर्देशक गोका लारेया पनि सोसिडाडबाट खेलिसकेका व्यक्ति हुन् । 

यी सबै प्रशिक्षक आपसमा छलफल गर्छन् । नयाँ सिद्धान्तमाथि बहस गर्छन् । फेरि सोसिडाडको अभ्यास स्थल जुबिएटामा रहेका मैदानमा सबै टिम एउटै समयमा आ–आफ्नो तरिकाले अभ्यास गरिरहेका हुन्छन् । यो सबै किन पनि आवश्यक छ भने, सोसिडाडका प्रत्येक टिमले एकै शैलीको फुटबल खेल्न जरुरी छ । ‘हामी सबै प्रशिक्षक प्राय सँगै खाना खान्छौँ । हामीसँग अल्गुआसिल पनि मिसिन्छन् । उनी हाम्रा लागि अपरिचित व्यक्ति होइनन् । उनले हामीलाई सुझाव दिन्छन् । हामी उनलाई सहयोग गर्ने प्रयास गछौँ । किनभने हाम्रा लागि सोसिडाडको सिनियर टिम सर्वाधिक महत्वपूर्ण हो,’ अलन्सो भन्छन् । 

हालका दिनमा जुबिएटामा दबाब बढ्दो छ । यसको महशुस सबैले गरिरहेका छन् । किनभने स्पेनिस लिग अघि बढ्दै गर्दा सोसिडाडको च्याम्पियन बन्ने सम्भावनामाथि बहस सुरु भइसकेको छ । सोसिडाड अहिलेसम्म दुई पटक मात्रै लिग च्याम्पियन बनेको छ । त्यो पनि सन् १९८० को दशकमा । सोसिडाडले पछिल्लो पटक हात पारेको सफलता भनेको सन् २००२–०३ सिजनको दोस्रो स्थान हो । हालको लयका कारण सोसिडाड समर्थकमा लिग जित्ने आशा पलाएको छ । तर के सोसिडाड लिग जित्न सक्षम छ ? 

यसको स्पष्ट जवाफ स्पोर्टिङ निर्देशक ओलाबेसँग पनि छैन । ‘समर्थकको आशा र माग लिग सोसिडाड लिग विजेता बनोस् भन्ने नै हो । तर हामी समर्थकको आशा र मागलाई खारेज गर्ने अवस्थामा छैनौँ । न त कुनै प्रकारको ग्यारेन्टी दिने स्थितीमै छौँ । तर उनीहरूको उत्साहलाई हामीले प्रेरणमा रुपान्तरण गर्दै प्रत्येक खेलबाट अधिकतम अंक जोड्नु पर्नेछ,’ ओलाबे भन्छन् । 

उनी सोसिडालाई निर्माण हुँदै गरेको भवन मान्छन् । जसको बलियो जग छ । भुई छ । तर सिलिङ बनाउन बाँकी छ । तब मात्रै भवन निर्माण सफलतापूर्वक सम्पन्न हुनेछ । निर्माण सकिएर रंगरोगन भएको भवन नै सोसिडाड समर्थकको आशा हो, माग हो । इएसपीएनको सहयोगमा

 
 


    
  
   
 


Author

थप समाचार
x