फुटबल

सोल्स्यारले म्यानचेस्टर युनाइटेड छाड्ने बेला आयोः रियो फर्डिनान्ड

इकागज |
कात्तिक २४, २०७८ बुधबार १४:३९ बजे

काठमाडौँ- रियो फर्डिनान्डले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले पद त्याग गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । सोल्स्यारले युनाइटेडमा आफूले सक्ने जति योगदान दिइसकेकाले ओल्ड ट्राफोर्डमा अब नयाँ प्रशिक्षक भित्रिनु पर्ने फर्डिनान्डको भनाइ छ । 

इंग्लिस प्रिमियर लिगको जारी सिजनमा दुई प्रतिद्वन्द्वी लिभरपुल र म्यानचेस्टर सिटीसँग युनाइटेड आफ्नै मैदानमा पराजित भएपछि सोल्स्यार पद जोगाउन दबाबमा छन् । युनाइटेडले तत्कालै सोल्स्यारलाई बर्खास्त गर्ने योजना नबनाएको भनिँदै गर्दा उनको राजीनामा मागनेको संख्या बढ्दो छ । यस सूचीमा युनाइटेडै पूर्वखेलाडी फर्डिनान्ड पनि थपिएका हुन् । 


केही समयअघिसम्म भने फर्डिनान्ड सोल्स्यारको समर्थक थिए । तर लिगअघि बढ्दै जाँदा युनाइटेडको प्रदर्शन झन् खस्किँदै गएपछि फर्डिनान्डले पनि आफ्ना पूर्वसहकर्मीको राजीनामा मागेका हुन् । गत सिजन सोल्स्यारले युनाइटेडलाई लिग उप–विजेता बनाएको र यसपाली क्रिस्टियानो रोनाल्डो, जेडोन सान्चो, राफाएल भारान जस्ता खेलाडी थपिएपछि आफ्नो पूर्वक्लब उपाधि दाबेदार बनेको विश्वास आफूले राखेको तर प्रदर्शन अपेक्षा गरे अनुसारको नभएको फर्डिनान्डको भनाइ छ ।

‘हामी उपाधि जित्ने दौडमा छैनौँ । युनाइटेडको खेल शैली नै स्पष्ट छैन । प्रत्येक खेलमा खेलाडीहरू आफ्नो भूमिकामा अस्पष्ट देखिन्छन् । यसकारण युनाइटेडमा परिवर्तनको आवश्यकता छ । सोल्स्यारले टिमलाई यहाँसम्म ल्याइपुर्‍याए । अब यहाँदेखि टिमलाई उपाधिसम्म पुर्‍याउन नयाँ प्रशिक्षकको खाँचो छ,’ फर्डिनान्डले भनेका छन् । 


Author

थप समाचार
x