पुनरागमनको नजिक इटाली र नेदरल्यान्ड्स
विश्वकपमा छनौट हुन निर्णायक खेल खेल्दै स्पेन र इटाली
काठमाडौँ - सबै महादेशमा यस साता विश्वकप छनौटका खेलहरू हुँदैछन् । २२ नोभेम्बर २०२२ बाट सुरु हुने विश्वकपका लागि जारी छनौटको पहिलो चरण लगभग सकिन लागेको छ । युरोपबाट कूल १३ टिमले कतारमा हुने विश्वकप खेल्नेछन् ।
युरोपियन छनौटमा सहभागी टिमहरूलाई १० समूहमा विभाजन गरिएको छ । तीमध्ये समूह विजेता बन्ने १० टिम स्वतः विश्वकपका लागि छनौट हुनेछन् । आ–आफ्नो समूहमा उप–विजेता बन्ने १० टिमले प्लेअफ खेल्नेछन् । जहाँ युरोप नेसन्स लिगमा शीर्ष दुई स्थानमा रहेका (सिधै विश्वकपमा छनौट नभएका र समूहमा दोस्रो नभएका) टिम पनि सहभागी हुनेछन् । यो प्लेअफबाट तीन टिमले विश्वकपका लागि स्थान पक्का गर्नेछन् ।
दबाबमा स्पेन
विश्वकप २०१० को विजेता स्पेन युरोपियन छनौटको समूह ‘बी’ मा छ । यो समूहमा पाँच टिम छन् र स्पेन दोस्रो स्थानमा छ । स्पेनले छ खेलबाट १३ अंक बनाउँदा शीर्षस्थानको स्विडेनको खातामा १५ अंक छ । युरो २०२० को सेमिफाइनल र नेसन्स लिगको फाइनल पुगेको स्पेनले बिहीबार राति ग्रिसको सामना गर्दैछ । ग्रिस नौ अंकसहित तेस्रो स्थानमा छ । यी दुई टिमबीचको पहिलो लेग बराबरीमा टुंगिएको थियो ।
उता पहिलो स्थानको स्विडेनले भने जर्जियासँग खेल्नेछ । यो खेलमा स्विडेन विजयी हुने र स्पेन बराबरीमा रोकिए वा खेल हारे, स्विडेनले विश्वकपमा आफ्नो स्थान पक्कक गर्नेछ । तर स्विडेन र स्पेनले आ–आफ्ना खेल जिते, पहिलो स्थानको छिनोफानो आगामी आइतबार हुनेछ । त्यस दिन स्पेनको सेभिलमा स्पेनले ४० वर्षिय ज्लाटन इब्राहिमोभिच सम्मिलित स्विडेनलाई स्वागत गर्नेछ ।
इटाली र नेदरल्यान्ड्स विश्वकप पुनरागमनको नजिक
विश्वकप २०१८ का लागि छनौट नभएको इटालीले आउँदो विश्वकपका लागि सिट पक्का गरिहालेको छैन । तर यस्तो सफलताको नजिक भने छ । समूह ‘सी’ मा रहेको इटालीले ६ खेलबाट १४ अंक बनाएको छ । दोस्रो स्थानको स्विटजरल्यान्डको पनि १४ अंक नै छ । यी दुई टिम शुक्रबार राति आमनेसामने हुँदैछन् । यो खेलमा विजयी हुने टिमले पहिलो चरणको छनौटको अन्तिम खेलबाट एक अंक मात्रै बुटले पनि विश्वकपका लागि छनौट हुनेछ । अन्तिम खेलमा आउँदो सोमबार इटालीले उत्तरी आयरल्यान्डको सामना गर्नेछ भने स्विटजरल्यान्डको भेट बुल्गेरियासँग हुनेछ ।
इटाली जस्तै नेदरल्यान्ड्स पनि गत विश्वकपमा अनुपस्थित रहेको थियो । यसपटक भने डच टिम विश्वकपको नजिक छ । लुई भान हालको प्रशिक्षणमा खेलिरहेको नेदरल्यान्ड्स समूह ‘जी’को शीर्ष स्थानमा छ । उसले आठ खेलबाट १९ अंक बनाएको छ । दोस्रो स्थानको नर्वेको १७ अंक छ भने तेस्रो स्थानमा रहेको टर्कीले अहिलेसम्ममा १५ अंक बनाएको छ । छनौटमा अब नेदरल्यान्ड्सले दुई खेल खेल्न बाँकी छ । आउँदो शनिबार नेदरल्यान्ड्सले मोन्टेनेग्रोको सामना गर्दैछ भने बुधबार उसको भेट नर्वेसँग हुनेछ । यस्तोमा एक जित र एक बराबरीले पनि भान हालको टिम कतारमा हुने विश्वकपका लागि छनौट हुनेछ ।
युरोप अन्तर्गतकै समूह ‘एच’मा रुस र क्रोएसियाबीच चर्को प्रतिस्पर्धा छ । विश्वकप २०१८ को आयोजक रुस आठ खेलबाट १९ अंक बटुलेर पहिलो स्थानमा छ भने रुसमा सम्पन्न विश्वकपमा फाइनलसम्म पुगेको क्रोएसिया दोस्रो स्थानमा छ । क्रोएसिया रुसभन्दा दुई अंकले पछाडि छ । रुसले बिहीबार साइप्रसको चुनौती सामना गर्दैछ भने क्रोएसियाको प्रतिस्पर्धा माल्टासँग हुँदैछ । रुस र क्रोएसिया आफ्नो अन्तिम खेलमा आगामी आइतबार भिड्नेछन् । यो खेलको नतिजाले समूहको अन्तिम स्वरुप प्रष्ट पार्नेछ ।
विश्वकप नजिक इंग्ल्यान्ड र फ्रान्स
क्रिस्टियानो रोनाल्डो कप्तान रहेको पोर्चुगल छनौटको समूह ‘ए’ मा छ । पाँच टिम रहेको यो समूहको शीर्ष स्थानमा सर्बिया छ । जसको सात खेलबाट १७ अंक छ । दोस्रो स्थानमा रहेको पोर्चुगलले सर्बियाभन्दा एक खेल कम खेल्दै १६ अंक बनाएको छ । पोर्चुगल बुधबार राति आयरल्यान्डसँग खेल्दैछ । यो खेलबाट जस्तोसुकै नतिजा आएपनि समूह विजेताको टुंगो भने शीर्ष दुईमा रहेका टिम भिडेपछि मात्रै लाग्नेछ । सर्बिया र पोर्चुगल आउँदो आइतबार राति आमनेसामने हुँदैछन् ।
विश्वकप विजेता फ्रान्सले भने आउँदो शनिबार नयाँ संस्करणको विश्वकपका लागि आफ्नो सहभागिता पक्का गर्ने सम्भावना छ । समूह ‘डी’मा पहिलो स्थानमा रहेको फ्रान्सले त्यस दिन काजाकस्तानको सामना गर्दैछ । छ खेलबाट १२ अंक बटुलिसकेको फ्रान्सले बराबरी खेले मात्रै पनि कतार विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गर्नेछ । किनभने दोस्रो स्थानमो युक्रेन फ्रान्सभन्दा तीन अंकले पछि छ, त्यो पनि एक खेल बढी खेलेर । फ्रान्सले आफ्नो अन्तिम खेलमा फिनल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल हेलसिन्कीमा हुनेछ ।
समूह ‘आई’मा रहेको इंग्ल्यान्डलाई विश्वपकपमा छनौट हुन आगामी दुई खेलबाट चार अंक चहिएको छ । आठ खेल खेलेर २० अंक बटुलेको इंग्ल्यान्डले आफ्ना बाँकी खेलमा अल्बानिया र सान मारिनोको सामना गर्नेछ । समूहमा पुच्छारका दुई स्थान ओगटेका अल्बानिया र सान मारिनोसँगको खेल इंग्ल्यान्डले आफ्नै मैदानमा खेल्नेछ । यो समूहमा पोल्यान्ड दोस्रो स्थानमा छ । उसको इंग्ल्यान्डको भन्दा तीन अंक कम छ । पोलिस टिमले आगामी शुक्रबार राति एन्डोरासँग खेल्नेछ भने अन्तिम खेलमा हंगेरीको चुनौती सामना गर्नेछ ।
यसैगरी बेल्जिय समूह ‘ई’को शीर्ष स्थानमा छ । पाँच टिम रहेको यो समूहको पहिलो स्थानमाथि कब्जा जमाएको बेल्जियसँग १६ अंक छ । छनौटमा बेल्जियमले दुई खेल खेल्न बाँकी छ । आगामी शनिबार राति बेल्जियमको भेट इस्टोनियासँग हुँदैछ । यो खेलमा अप्रत्याशित पराजय भोगे विश्वकपमा छनौट हुन बेल्जियमले आन्तिम खेलमा वेल्सलाई हराउनु पर्नेछ । वेल्स समूहमा तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेका चेक रिपब्लिक गोल अन्तरका कारण दोस्रो स्थानमा छ । दुवै टिमको ११–११ अंक छ । तर चेक रिपब्लिकले वेल्सको भन्दा एक खेल बढी खेलेको छ । समूह विजेतका रुपमा विश्वकपमा छनौट हुन वेल्सले आगामी दुई खेलमा जित निकाल्नुपर्ने हुन्छ । वेल्सले आउँदो शनिबार बेलारुसको सामना गर्दैछ ।
छनौट भइसकेका टिम
चार पटकको विश्वकप विजेता जर्मनी समूह ‘जे’को हैसियतले कतार विश्वकपका लागि छनौट भइसकेको छ । छ टिम सम्मिलित समूह ‘ज’ेमा जर्मनीले आठ खेलबाट २१ अंक बनाएको छ भने दोस्रो स्थानको रोमानियाको १३ अंक मात्रै छ । आठ–आठ खेल नै खेलेका नर्थ म्यासेडोनिया र अर्मेनियाको १२–१२ अंक छ । यस्तोमा यी दुवै टिमले दोस्रो स्थानको रोमानियासँग दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नसक्ने अवस्था छ ।
जर्मनीले जस्तै डेनमार्कले पनि कतारमा हुने विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ । समूह ‘एफ’को पहिलो स्थान ओगटेको डेनमार्कको आठ खेलबाट २४ अंक छ भने दोस्रो स्थानको स्कटल्यान्डको उति नै खेलबाट १७ अंक छ । स्कटल्यान्डलाई पछ्याइरहेको इजरायलको १३ अंक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया