फुटबल

न्युकासललाई रेलिगेसनबाट बचाउने वाचा गर्न सक्दिँन : एड्‍डी हाउ

इकागज |
कात्तिक २५, २०७८ बिहीबार १५:६ बजे

काठमाडौँ- साउदी अरबबाट लगानी भित्रिएपछि न्युकासल युनाइटेड इंग्लिस प्रिमियर लिगको धनी क्लबहरूमध्येको एक बनेको छ । नयाँ व्यवस्थापनसँगै क्लबमा प्रशिक्षक पनि परिवर्तन भएका छनु । कुनैबेला प्रिमियर लिगमा रहेको बर्नमाउथका पूर्वप्रशिक्षक एड्‌डी हाउले न्युकासलको जिम्मेवारी सम्हाल्न सुरु गरिसकेका छन् । 

न्युकासलको प्रशिक्षकमा नियुक्त भएपछि हाउका लागि मुख्य चुनौती क्लबलाई रेलिगेसनबाट बचाउने हो । किनभने न्युकासल हाल अंक तालिकामा १९ औँ स्थानमा छ । यसै सन्दर्भमा हाउको अभिव्यक्ति आएको छ । उनले न्युकासललाई प्रिमियर लिगमै राख्‍ने ग्यारेन्टी आफूले गर्न नसक्ने बताएका छन् ।


‘न्युकासल रेलिगेट हुँदैन भन्‍नेमा म विश्वस्त छु । तर म वाचा भने सक्दिँन । मैले गर्नसक्ने भनेको प्रयास हो । आफ्नो क्षमताले भ्याएसम्मको योगदान म गर्ने नै छु,’ हाउले भनेका छन् । 

हाउ १८ महिनापछि क्लब फुटबलमा फर्किएका हुन् । बर्नमाउथ प्रिमियर लिगबाट घटुवामा परेसँगै हाउले पदत्याग गरेका थिए । संयोगवश उनी फेरि रेलिगेशनको लडाइँमा फर्किएका छन् । तर यसपटक उनीसँग तुलनात्मक रुपमा बलियो टिम छ । अनि न्युकासल बर्नमाउथभन्दा बढी स्रोत भएको क्लब पनि हो । आउँदो जनवरीको सरुवा बजारमा न्युकासलले नयाँ खेलाडी खरिद गर्ने हुँदा हाउको टिम थप मजबुद हुनेछ । 

‘मैले क्लब व्यवस्थापनसँग छलफल गरेको छु । उनीहरू यो क्लबलाई सफल बनाउन प्रतिबद्ध छन् । अलिहेका लागि मुख्य चुनौती रेलिगेशनबाट बच्ने हो । यसका लागि हामीले टिममा रहेका समस्यालाई पहिचान गरी समाधान गर्नतर्फ लाग्‍नु पर्छ । र, जसरी हुन्छ प्रिमियर लिगमा टिक्नु पर्छ,’ हाउले भनेका छन् । 


 


Author

थप समाचार
x