फुटबल

इंग्लिस प्रिमियर लिग फर्किए स्टिभन जेरार्ड

इकागज |
कात्तिक २५, २०७८ बिहीबार १६:१४ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको एस्टन भिल्लाले स्टिभन जेरार्डलाई प्रशिक्षकमा नियुक्त गरेको छ । डिन स्मिथलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजीमा रहेको भिल्लाले जेरार्डलाई बिहीबार प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो । 

जेरार्ड स्कटिस क्लब रेन्जर्सबाट प्रिमियर लिग फर्किएका हुन् । उनी जुन, २०१८ देखि रेन्जर्सको प्रशिक्षकका रुपमा कार्यरत थिए । रेन्जर्स जेरार्डकै नेतृत्वमा गत सिजन स्कटिस च्याम्पियन बनेको थियो । यसपालीको लिगमा पनि रेन्जर्स शीर्ष स्थानमै छ । तर भिल्लाले प्रशिक्षक बन्न प्रस्ताव राखेपछि जेरार्डले रेन्जर्ससँग बिदा मागे । 


लिभरपुलका पूर्वकप्तान जेरार्डको काँधमा भिल्लालाई प्रिमियर लिगमा टिकाउने जिम्मेवारी आइपुगेको छ । १६ औँ स्थानमा रहेको भिल्ला रेलिगेसन क्षेत्रबाट मात्रै दुई अंकले माथि छ । गत सिजन भने भिल्ला प्रिमियर लिगमा ११ औँ स्थानमा रहेको थियो ।

‘एस्टन भिल्ला ऐतिहासिक क्लब हो । इंग्लिस फुटबलमा भिल्ला ठूलो नाम हो । यस्तो क्लबको प्रशिक्षक बन्‍न पाउँदा मलाई गर्व महशुस भइरहेको छ । यो क्लबको आफ्नो लक्ष्य छ । लक्ष्य प्राप्तीका लागि भिल्लालाई सहयोग गर्न म तयार छु,’ जेरार्डले भनेका छन् । 
 
 


Author

थप समाचार
x