फुटबल

फर्कँदै ए डिभिजन लिग

दशरथ रंगशालामा घरेलु लिगका खेल साँझमा

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार १६:३ बजे

काठमाडौँ- विश्‍व फुटबलमा नाम चलेका लिगका खेल सामान्यतया साँझमै गराइन्छ । बढीभन्दा बढी दर्शक रंगशाला आउन् भनेर पनि यसो गरिने हो । नेपाली घरेलु फुटबलमा भने यस्तो अभ्यास कमै हुन्छ । दशरथ रंगशालामा फल्ड लाइट बालेर अन्तर्राष्ट्रिय खेलहरू गरिने भए पनि घरेलु लिग भने दिउँसै गरिने दृष्टान्त छ । 

तर यसपटक भने अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगका खेलहरू साँझमा पनि खेलाउने तयारी गरेको छ । तर सबै खेल भने साँझमा हुने छैनन् । मंसिर ३ बाट सुरू हुने लिगका शुक्रबार र शनिबार हुने खेल दशरथ रंगशालामा खेलाइनेछ । दशरथ रंगशालामा प्रत्येक शुक्रबार र शनिबार दुई–दुई खेल हुनेछन् । खेल समय दिउँसो १ बजे र साँझ ४ः३० तोकिएको छ । साँझमा हुने खेल फल्ड लाइटमा हुनेछन् ।


‘अब काठमाडौँमा साँझमा पनि फुटबल खेलाइन्छ भन्‍ने सन्देश दिने प्रयास हो,’ लिग निर्देशक सञ्जिव मिश्रले शुक्रबार भने । दशरथ रंगशालामा पूर्णक्षमतामा दर्शक राखिनेछ । यहाँ हुने खेलका लागि दुईथरी मूल्य राखिएका छन् । भीआईपी पारापेटका लागि पाँच सय रूपैयाँ टिकट मूल्य राखिएको छ भने साधारण पारापेटका लागि तीन सय रूपैयाँ राखिएको छ । 

दशरथ रंगशालाबाहेक एन्फाको मुख्यालयमा रहेको मैदानमा पनि लिगका खेलहरू खेलाइनेछ । ललितपुरको साताबाटोस्थित मैदानमा आइतबार र सोमबार लिगका खेलहरू हुनेछन् । ललितपुरकै च्यासललाई पनि खेलस्थल बनाउने योजना भएपनि केही ड्रेसिङ रूम लगायतका केही पूर्वाधारको कमी रहेकाले तत्कालका लागि एन्फाले त्यहाँ लिगका खेल गराउने सम्भावना नरहेको मिश्रको भनाइ थियो । 

यद्यपि पोखरामा रहेको रंगशालामा लिगका केही खेल गराउन छलफल भइरहेको छ । मनाङ मर्स्याङ्दी क्लबले पोखरा रंगशालालाई होम ग्राउन्ड बनाएपछि उसका केही खेल त्यही गराउनेतर्फ प्रयास थालिएको हाे । तर मनाङसँग खेल्नु पर्ने लिगका अन्य टिम पोखरा जान्छन् वा जाँदैनन् भन्‍नेमा अहिल्यै केही भन्न नसकिने एन्फको भनाइ छ । मनाङले कमसेकम ५–६ खेल पोखरा रंगशालामा गर्नुपर्ने प्रस्ताव राखेको र यो प्रस्तावमा सहमति नभए लिगका केही दुई राउन्डका खेलहरू ढुक्कै त्यही गर्ने योजना पनि एन्फासँग छ । 

यसो भएमा लिगको खर्च बढ्ने एन्फाले बताएको छ । लिग सम्पन्न गर्न साढे छ करोड लाग्ने र पोखरामा पनि खेल गर्नुपर्ने भए लागत साढे सात करोड पुग्ने बताइएको छ । लिगको मुख्य प्रायोजक कतार एयरवेजले एन्फालाई डेढ करोड उपलब्ध गराएको छ । 

लिगमा काठमाडौँ उपत्यकाका १४ क्लब सहभागी हुँदैछन् । लिग १३ राउन्डसम्म चल्नेछ । कुल ९१ खेल खेलिने लिग फागुन १४ सम्ममा सकिने विश्‍वास एन्फाको छ । लिग विजेताले ७५ लाख रूपैयाँ पाउनेछ भने दोस्रो र तेस्रो स्थानमा लिग समापन गर्ने टिमहरूले क्रमशः ५० लाख रूपैयाँ र २५ लाख रूपैयाँ पाउनेछन् । 

व्यक्तिगत विधातर्फ सबैभन्दा बढी क्लिनसिट राखी गोल्डन ग्लब्स जित्ने गोलरक्षक र उच्च गोलकर्ता भई गोल्डन बुट जित्ने खेलाडीलाई दुई–दुई लाख रूपैयाँ पुरस्कार दिइनेछ । अनि लिगमा सर्वोत्कृष्ट सावित हुने खेलाडीलाई तीन लाख रूपैयाँ प्रदान गरिनेछ । लिगको उद्घाटन खेलमा च्याम्पियन मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ ।  
 
 


Author

थप समाचार
x