जाभीको जोडबलमा बार्सिलोना फर्कदै आल्भेस
काठमाडौँ- डानी आल्भेसले पुनः बार्सिलोनाबाट खेल्ने पक्का भएको छ । बार्सिलोनाले शुक्रबार राति आल्भेस आफ्नो पुरानो क्लब फर्कन लागेको घोषणा गरेको हो । राइट ब्याक पोजिसनमा खेल्ने आल्भेस सन् २००८ देखि २०१६ सम्म बार्सिलोनामै थिए । त्यसबीचमा यी ब्राजिलियन खेलाडीले क्याट्लन क्लबका लागि तीन सय ९१ खेल खेलेका थिए । र, ६ पटक स्पेनिस ला लिगा र तीन पटक च्याम्पियन्स लिग जितेका थिए । आफ्नो करियरभर आल्भेसले कुल ४२ उपाधि जितेका छन् । उनी ओलम्पिक फुटबलको इतिहासमा स्वर्ण जित्ने सबैभन्दा पाको खेलाडीसमेत हुन् ।
आल्भेस बार्सिलोना छाडी इटालीको युभेन्टस गएका थिए । त्यहाँ उनले एक सिजन खेले । युभेन्टसबाट बार्सिलोना फर्कन चाहे पनि आल्भेसको सपना पूरा भएन । त्यसपछि उनी पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग आबद्ध भए । पीएसजीमा दुई सिजन रहेपछि आल्भेस घर फर्किए । र, स्थानीय साओ पाउलोसँग अनुबन्धित भए । तर गत सेप्टेम्बरमा साओ पाउलोसँग सम्बन्ध चिसिएपछि आल्भेस फ्रि–एजेन्ट बनेका हुन् । बार्सिलोनोले यही मौका छोपेर उनलाई क्याम्प नौउ फर्काउने निर्णय लिएको हो । हालका लागि उनीसँग ६ महिनाका लागि सम्झौता गरिन लागेको हो ।
आल्भेस नोभेम्बर र डिसेम्बर महिनाभरि बार्सिलोनाको जर्सीमा मैदान उत्रन पाउने छैनन् । आगामी जनवरीमा सरुवा बजार खुलेपछि मात्रै उनी बार्सिलोनाको खेलाडीका रुपमा दर्ता हुनेछन् । यद्यपि उनले अर्को साताबाट नै बार्सिलोनाका साथी खेलाडीहरुसँग अभ्यास गर्न थाल्ने छन् ।
जाभी हर्नान्डेज नयाँ प्रशिक्षकमा नियुक्त भएपछिको पहिलो नयाँ खेलाडी बन्नेछन् आल्भेस । हुन त बार्सिलोनामा पहिलेबाटै सर्जिनो डेस्ट, सर्जी रोबर्टो, ओस्कार मिनगुएजा लगायतका राइट ब्याक छन् । तर पनि आल्भेसलाई अनुबन्ध गर्न लागिएको हो । यसको कारण जाभीलाई मानिएको छ । बार्सिलोनामा आफ्ना पूर्ववर्तीहरू भन्दा शक्तिशाली प्रशिक्षक मानिएका जाभीले आल्भेसलाई उनको गहिरो अनुभव र कौशलका कारण क्याम्प नौउमा फर्काउने निर्णय गरेको बताइएको छ ।
आल्भेसले यो वर्ष (सन् २०२१)मा साओ पाउलोका लागि २२ खेल खेले । ब्राजिलयन क्लबका प्रशिक्षक हर्नान क्रेस्पोले आल्भेसलाई राइट विंग ब्याक बनाएर खेलाउने गरेका थिए । उनै क्रेस्पोको नेतृत्वमा साओ पाओउलोले यो वर्ष क्याम्पिओनाटो पाउलिस्टा पनि जित्यो ।
पाउलिस्टा ब्राजिलको साओ पाउलो प्रान्तको पहिलो श्रेणीको लिग हो । यही लिग जितेसँगै साओ पाउलोले आफ्नो आठ वर्ष लामो उपाधिविहीन यात्रा टुंगाएको हो । र, यो उपाधि आल्भेसले साओ पाउलोको जर्सीमा जितेको पहिलो ट्रफी पनि हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया