एस्टन भिल्लाबाट बर्खास्त भएका डिन स्मिथलाई नर्विचले प्रशिक्षक बनाउने
काठमाडौँ- गत आइतबार एस्टन भिल्लाबाट बर्खास्तीमा परेका डिन स्मिथलाई आफ्नो प्रशिक्षक बन्न इंग्लिस प्रिमियर लिगकै अर्को क्लब नर्विच सिटीले प्रस्ताव राखेको छ । स्मिथले नर्विचको प्रस्ताव स्विकार्ने र नर्विचले उनको आगमनको घोषणा आइतबार गर्ने अनुमान गरिएको छ ।
स्मिथतर्फ नजर लगाउनुअघि नर्विचले फ्रान्क लाम्पार्डलाई प्रशिक्षक बनाउने चर्चा चलेको थियो । तर अन्तिममा आएर लाम्पार्ड र नर्विचबीच सहमति नभएको दी एथ्लेटिकले लेखेको छ ।
डानियल फार्केलाई बर्खास्ती गरेपछि नर्विच नयाँ प्रशिक्षकको खोजीमा छ । तसर्थ उसले स्मिथलाई प्रस्ताव राखेको हो । स्मिथले भिल्लालाई प्रिमियर लिगमा बढुवा गराएका थिए । र, भिल्ला लगातार दुई सिजन प्रिमियर लिगमा टिक्यो । तर यो सिजन भने स्मिथको नेतृत्वमा भिल्लाको प्रदर्शन सन्तोषजनक रहन सकेन । भिल्ला ११ खेलबाट १२ अंक बटुलेर १६ औँ स्थानमा छ ।
भिल्लामा स्मिथको स्थान स्टिभन जेरार्डले लिएका छन् । स्कटिस क्लबबाट भिल्ला पुगेका हुन्, जेरार्ड । स्मिथले सम्हाल्नु पर्ने नर्विच भने प्रिमियर लिगको अंक तालिकाको पुच्छारमा छ । उसको खातामा ११ खेलबाट पाँच अंक छ । यस्तोमा स्मिथको जिम्मेवारी नर्विचलाई रेलिगेसनबाट बचाउनु हुनेछ । यही जिम्मेवारी जेरार्डको काँधमा पनि छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया