फुटबल

सलाह नेतृत्वको इजिप्ट विश्‍वकप नजिक

इकागज |
कात्तिक २७, २०७८ शनिबार १९:३१ बजे

काठमाडौँ- सबै महादेशमा कतार विश्‍वकपका लागि छनौट जारी छ । सन् २०२२ को नोभेम्बर २१ बाट सुरु हुने विश्वकपमा सबैभन्दा धेरै टिम युरोपबाट हुनेछन् । युरोपमा पनि छनौट जारी छ, जसले विश्‍वकपमा सहभागी हुने १३ टिमको छिनोफानो गर्नेछ । 

विश्‍वकपमा युरोपपछि सबैभन्दा बढी टिम पठाउने महादेश अफ्रिका हो । यहाँबाट पाँच टिमले कतारमा हुने विश्‍वकपका लागि स्थान पक्का गर्नेछन् । अफ्रिकामा पनि दोस्रो चरणको छनौट जारी छ । यो चरणको छनौटमा कुल ४० टिम सहभागी छन् । यी टिमलाई १० समूहमा विभाजित गरिएको छ । प्रत्येक समूह विजेताले तेस्रो चरणको छनौटमा आ–आफ्नो सिट पक्का गर्नेछन् । तेस्रो चरणमा पुग्‍ने ती १० टिमले एक–एक चरणमा प्रतिस्पर्धा गर्नेछन् । विजयी हुने पाँच टिम कतार पुग्नेछन् ।  


तेस्रो चरणमा इजिप्ट, माली, मोरोक्को र सेनेगलले स्थान पक्का गरेका छन् । यी टिममध्ये माली, मोरोक्को र सेनेगल गत महिना नै तेस्रो चरणमा पुगेका हुन् । इजिप्टले शुक्रबार राति मात्रै तेस्रो चरणमा स्थान बनाएको हो । पछिल्लो खेलमा इजिप्टले एन्गोलासँग २–२ को बराबरी खेल्यो । बराबरीका बाबजुद पनि इजिप्ट समूह एफको विजेता बन्दै तेस्रो चरण पुग्‍न सकेको हो । यो समूहमा गाबोन सात अंकसहित दोस्रो स्थानमा छ । 

इजिप्ट पहिलो हाफमै २–० ले पछि परेको थियो । हेल्दर कोस्टा र एम.बाला एनजोलाले एक–एक गोल गरेपछि एन्गोलाले खेलमा अग्रता बनाएको थियो । तर मोहम्मद एलनेनी र अक्रम तावफिकले गोल गरेपछि इजिप्ट खेलमा फर्कियो । दुवै गोलका लागि मोहम्मद सलाहले पास मिलाइदिएका थिए । 

शुक्रबार राति नै भएको अर्को खेलमा मोरोक्कोले सुडानमाथि ३–० को जित दर्ता गर्‍यो । तेस्रो चरणको छनौटका लागि स्थान पक्का गरिसकेको मोरोक्कोको जितमा रायन मायीले दुई गोल गरे । विजयी टिमको तेस्रो गोल इमरान लुजाको नाममा रह्यो । यो जितसँगै मोरोक्कोले १५ अंक बटुलेको छ । विश्वकप छनौटमा अपराजित मोरोक्कोका रहेको समूह आईमा गिनी बासु पाँच अंकसहित दोस्रो स्थानमा छ । जितविहीन सुडान भने अंक तालिकाको पुच्छारमा छ ।  
 
 


Author

थप समाचार
x