फुटबल

फ्रान्स र बेल्जियम विश्‍वकपका लागि छनौट, नेदरल्यान्ड्सलाई मोन्टेनेग्रोले रोक्यो

इकागज |
कात्तिक २८, २०७८ आइतबार ११:५० बजे

काठमाडौँ- गत संस्करणको विश्‍वकप विजेता फ्रान्स आउँदो विश्‍वकपका लागि छनौट भएको छ । शनिबार राति काजाकस्तानलाई ८–० ले हराएपछि फ्रान्सले समूह ‘डी’को विजेताको हैसियतले विश्‍वकपका आफ्नो स्थान पक्का गरेको हो । फ्रान्सको जितमा किलियान एमबाप्पे एक्लैले चार गोल गरे भने करिम बेन्जेमाले दुई गोल थपे । त्यसैगरी, आड्रियन राबियोट र एन्टोइन ग्रिजमनले एक गोल गरे । 

विश्‍वकप छनौटमा तेस्रो जित हासिल गरेपछि फ्रान्सले १५ अंक बटुलेको छ । दोस्रो स्थानको फिनल्यान्डको खातामा ११ अंक छ । पाँच टिम रहेको यो समूहमा काजाकस्तान पुच्छारमा छ । 


सन् १९५८ यता एकै खेलमा चार गोल गर्ने पहिलो फ्रेन्च खेलाडी बनेका एमबाप्पेले फ्रान्सबाट विश्‍वकप खेल्न पाउनु सपना पूरा भएको सरह हुने प्रतिक्रिया दिए । ‘हाम्रो टिममा विश्‍वकप खेल्न नपाएका धेरै खेलाडी छन् । सबै खेलाडीको सपना हुन्छ, आफ्नो राष्ट्रिय टिमबाट विश्‍वकप खेल्ने । यसअर्थमा विश्‍वकपमा छनौट हुनु हाम्रा लागि ठूलो सफलता हो,’ रुसमा भएको पछिल्लो विश्‍वकप खेलेका एम्बाप्पेले भने । 

खेलमा दुई गोल गरेका बेन्जेमाले एम्बाप्पेसँगको साझेदारीप्रति प्रसन्‍नता व्यक्त गरे । ‘हामी एक अर्काको मुभमेन्ट बुझ्छौँ । हामीबीच साझेदारीको विकास भइरहेको छ । व्यक्तिगत रुपमा यो मेरो दोस्रो विश्‍वकप हुनेछ । यसकारण म हिर्षत छु,’ एम्बाप्पेको पासमा गोल गरेको बेन्जेमाले भने । 

फ्रान्ससँगै बेल्जियम पनि विश्‍वकपका लागि छनौट भएको छ । शनिबार राति इस्टोनियालाई ३–१ ले पराजित गरेसँगै समूह ‘ई’ को विजेता बेल्जियमले विश्‍वकप खेल्ने पक्का भएको हो । छनौटमा छैटो जित हात पारेसँगै बेल्जियमको सात खेलबाट १९ अंक भएको छ । दोस्रो स्थानमा रहेको वेल्सको उति नै खेलबाट १४ अंक छ । शनिबार राति नै भएको खेलमा वेल्सले बेलारुसमाथि ५–१ को जित हासिल गरेको थियो । 

बेल्जियमको जितमा क्रिस्टियन बेन्टेके, यानिक कारास्को र थोर्गन हाजार्डले एक–एक गोल गरेका थिए । इस्टोनियाबाट एरिक सोर्गाले गोल फर्काएका थिए । उत वेल्सलाई जित दिलाउन आरोन राम्सेले दुई गोल गरे भने नेको विलिम्यस, बेन डेभिस र कोनर रोबर्टसले एक–एक गोल गरेका थिए । बेलारुसको एक मात्र गोल आर्टेम कोन्टसेभोयले गरे । 

फ्रान्स र बेल्जियले विश्‍वकपमा आ–आफ्नो स्थान सुरक्षित गर्दा दी नेदरल्यान्ड्सले भने केही समय पर्खनु पर्ने भएको छ । शनिबार राति मोन्टेनेग्रोसँग २–२ को बराबरीमा रोकिएपछि डच टिमले कतार विश्‍वकपका लागि स्थान पक्का गर्न सकेन । दुई गोलको अग्रता बनाए पनि दोस्रो हाफमा गोल खाएपछि नेदरल्यान्ड्स रोकियो । नेदरल्यान्ड्सले २५ औँ मिनेटमा गोलको खाता खोलेको थियो । मेम्पिस डिपेले पेनाल्टीमा गोल गरे । दोस्रो हाफको ५४ औँ मिनेटमा डिपेले गोलको अग्रता दोब्बर बनाए । तर मोन्टेनेग्रोले ८२ औँ र ८६ औँ मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा सकियो । 

समूह ‘जी’मा रहेको नेदरल्यान्ड्सको ६ खेलबाट २० अंक छ । उसलाई दोस्रो स्थानको टर्कीले पछ्याइरहेको छ । ६ टिम सम्मिलित समूहमा तेस्रो स्थानमा रहेको नर्वेको पनि १८ अंक छ । यी तीन वटै टिमले नौ–नौ खेल खेलेका छन् । तर गोल भिन्‍नताका आधारमा टर्कीले दोस्रो स्थानमाथि कब्जा जमाएको हो । यस यो समूहबाट विश्‍वकपका लागि कुन टिम छनौट हुनेछ भन्‍ने मंगलबार राति मात्रै निक्र्योल हुनेछ । नेदरल्यान्ड्सले आफ्नो अन्तिम खेलमा नर्वेको सामना गर्नेछ भने मोन्टेनेग्रो र टर्की पनि भिड्नेछन् । यस्तोमा नेदरल्यान्ड्सलाई अनिवार्य जित चाहिएको छ । 

युरोपबाट कुल १३ टिम विश्‍वकपका लागि छनौट हुनेछन् । विश्‍वकप विजेता फ्रान्स र पूर्वविजेता जर्मनीबाहेक बेल्जियम र डेनमार्कले पनि कतारमा हुने विश्‍वकपका लागि सहभागिता सुिनश्चित गरिसकेका छन् । युरोपतर्फको छनौटमा सहभागी टिमलाई १० समूहमा विभाजित गरिएको छ । सबै समूहबाट समूह विजेता विश्‍वकपका लागि छनौट हुनेछन् । समूह उप–विजेता बन्‍ने १० टिम र नेसन्स कपका दुई टिम प्लेअफमा भिड्नेछन् । यहाँबाट तीन टिमले विश्‍वकपमा सहभागिता पक्का गर्नेछन् । 

 


Author

थप समाचार
x