मेस्सी र रोनाल्डोभन्दा नेयमार प्रतिभावान् : काफु
काठमाडौँ- कुनै समय नेयमारलाई ब्राजिलका सर्वकालिन महान् खेलाडी पेलेको विँडो थाम्ने खेलाडीका रुपमा लिइन्थ्यो । सान्तोसबाट ब्राजिलियन फुटबलमा उदाएका नेयमारले अन्ततः युरोपियन क्लब फुटबलमा पाइला टेके । बार्सिलोनामा उनले केही उल्लेखिय उपाधि त जिते तर उनको करियरले सोचे अनुसारको उचाइ लिन सकेन् ।
बार्सिलोनाबाट उनी पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगे । जहाँ उनी टिमका एकल स्टार बन्न सकेका छैनन् । उसै पनि महंगा खेलाडीहरूले भरिएको पीएसजीमा नेयमार किलियान एमबाप्पेको छाँयामा परिरहन्छन् । अब त पीएसजीमा लियोनल मेस्सीसमेत पुगेका छन् । यस्तोमा नेयमार टिमको मुख्य आकर्षण बन्न संर्घषरत छन् ।
फिफा वर्ष खेलाडी, बालोन डोर जस्ता प्रतिष्ठित अवार्डमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई टक्कर दिने अनुमान गरिएका नेयमार उल्लेखित स्टारको नजिक पुग्न सकेका छैनन् । यद्यपि नेयमारका समर्थकहरू उनलाई मेस्सी र रोनाल्डोसँग दाँज्न छाड्दैनन् । हालै ब्राजिलका काफुले नेयमार मेस्सी र रोनाल्डोभन्दा प्रतिभावान् भएको दाबी गरेका छन् ।
‘प्राविधिक कौशलका आधारमा नेयमार मेस्सी र रोनाल्डोभन्दा उत्कृष्ट खेलाडी हुन् । तर नेयमार आफ्नो टिमको नेतृत्व लिने सवालमा चाहिँ मेस्सी र रोनाल्डोभन्दा पछाडि छन् । उनी खेलमा शतप्रतिशत प्रतिबद्ध हुनुपर्छ । उनले ब्राजिल र पीएसजीमा आफूलाई लिडरका रुपमा प्रस्तुत गर्नुपर्छ,’ ब्राजिलका पूर्वकप्तान काफुले स्पेनिस अखबार मार्कासँग भनेका छन् ।
नेयमारले आफ्नो क्लब करियरमा १२ उपाधि जितेका छन् । जसमा आठ लिग र एक च्याम्पियन्स लिग उपाधि पनि सम्मिलित छन् । १२ वर्षे लामो क्लब करियर दौरान नेयमारले ४४७ खेलमा २६५ गोल गरेका छन् । पीएजीमा मात्रै नेयमारले ९० गोल गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया