फुटबल

महिला लिग छनौट प्रतियोगिताको उपाधि धनगढीलाई

इकागज |
कात्तिक २८, २०७८ आइतबार १९:४ बजे

काठमाडौँ- उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मैदानमा आइतबार भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टीमा ३–१ ले पराजित गरेर धनगढी च्याम्पियन बनेको हो । च्याम्पियन धनगढीले अब राष्ट्रिय महिला लिग खेल्नेछ । उपाधि भिडन्तमा भागेको पराजयका बाबजुद ललितपुर पनि लिगका लागि छनौट भएको छ । 

निर्धारित समयमा दुवै टिमले तीन–तीन गोल गरेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा धनगढीका लागि रेविका पाण्डे, रेखा पौडेल र विर्सना चौधरीले गोल गरे । उता ललितपुरकी निर्मलम विकको प्रहार मात्रै गोलमा परिणत भएको थियो । 


त्यसअघि खेलमा ललितपुरले सुरुवाती अग्रता लिएको थियो । १२ औँ मिनेटमै मनिषा सेनले ललितपुरका लागि गोलको खाता खोलेकी थिइन् । त्यसको चार मिनेटपछि नै ललितपुरले अग्रता दोब्बर बनाएको थियो । यसपटक निर्मला विकले गोल गरिन् । 

तर, पहिलो हाफमै धनगढीले खेलमा फर्कने संकेत गर्‍यो । उसका लागि सिमा रावलले गोल गरिन् । ३९ औँ मिनेटमा रजनी थोकरले गोल गर्दा ललितपुर ३–१ को स्थितीमा पुग्यो । चन्द्रा भण्डारीले ४९ औँ मिनेटमा गोल गरेपछि धनगढीले स्कोरलाइन ३–२ बनायो । उनै चन्द्राले ६४ औँ मिनेटमा दोस्रो गोल गरिन् र खेल ३–३ को बराबरीमा टुंगियो ।

प्रतियोगिता जितेको धनगढीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उप–विजेता बनेको ललितपुरले भने तीन लाख रुपैयाँ पायो । व्यक्तिगत विधातर्फ धनगढीको बर्चस्व रह्यो । विजयी टिमकी उसा नाथ उत्कृष्ट गोलरक्षक बनिन् भने सरस्वती रोकाया, चन्द्र भण्डारी र रागवन्दर कार्की क्रमशः उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षक बने । व्यक्तिगत विधामा उत्कृष्ट सावित हुनेले जनही २० हजार रुपैयाँ प्राप्त गरे । 

उता कन्काइ नगरपालिकाकी दीपा शाही प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीका रुपमा चुनिइन् । उनलाई ५० हजार रुपैयाँ दिइयो । यसैगरी, जानकी गाउँपालिका प्रतियोगिताको अनुशासित टिम बन्यो र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । 


Author

थप समाचार
x