फुटबल

विश्‍वकप छनौट : गर या मरको स्थितिमा इटाली

इकागज |
कात्तिक २९, २०७८ सोमबार १२:५३ बजे

काठमाडौँ- युरोपतर्फको विश्वकप छनौटको सूमह ‘सी’ मा छ, इटाली । फ्रान्स, जर्मनीलगायतका पूर्वविश्वकप विजेता टिम कतार विश्वकपका लागि छनौट भइसक्दा, इटालीको सहभागिता भने अझै निश्चित भइसकेको छैन । इटाली रहेको समूहमा कुल पाँच टिम छन् । यी टिममध्ये इटाली र स्विटजरल्यान्डको अंक बराबर छ । दुवै टिमले सात–सात खेल खेलेर १५–१५ अंक बनाएका छन् । अंक बराबर भएपनि गोल भिन्‍नताको आधारमा इटाली पहिलो स्थानमा छ । 

छनौटमा इटाली र स्विटजरल्यान्डले एक–एक खेल खेल्न बाँकी छ । इटालीको उत्तरी आयरल्यान्डको सामना गर्दैछ भने स्विटजरल्यान्डको विपक्षी बुल्गेरिया हो । दुवै खेल सोमबार राति हुँदैछन् । उत्तरी आयरल्यान्ड र बुल्गेरियाको खातमा आठ–आठ अंक छ । यी दुवै टिम विश्वकप छनौटको दौडबाट बाहिरिसकेका छन् । दुवै टिमले आ–आफ्ना खेल जिते समूह विजेताको टुंगो, गोल भिन्‍नताले लगाउनेछ । यो मामलामा हाल इटाली अगाडि छ । 


तर यदि गोल भिन्‍नताले पनि समूह विजेताको टुंगो लगाउन नसके, अवे गोलको भूमिका महत्वपूर्ण हुनेछ । बासेलमा भएको पहिलो लेगमा यी दुई टिमले बराबरी खेले पनि रोममा भएको खेलमा भने दुवै टिमले एक–एक गोल गरेका थिए । तसर्थ अवे गोलका आधारमा स्विटजरल्यान्ड इटालीमाथि हावी हुनेछ । समूह विजेता विश्वकपका लागि स्वत छनौट हुने भएकाले दोस्रो स्थानमा हुने टिमले प्लेअफ खेल्नेछ । प्लेअफ खेल मार्चमा हुनेछ । सन् २०१८ को विश्वकप खेल्न नपाएको इटाली प्लेअफको मामलामा अभागी टिम हो । किनभने रुस विश्वकपका लागि भएको प्लेअफमा इटाली स्विडेनसँग स्तब्ध बनेको थियो । 

छनौटको अन्तिम खेलअघि इटालीले निरन्तर खराब समाचार सुन्‍नु परिरहेको छ । किनभने इटालीले शनिबार मात्रै तीन खेलाडी गुमाएको छ । रक्षकद्वय एलेसान्द्रो बास्ताटोनी र डेभिड कालाब्रियाले चोट बोकेका छन् भने क्रिस्टियानो बिराघी व्यक्तिगत कारण देखाउँदै घर फर्किएका छन् । यसअघि नै कप्तान जियोरजियो किलिनी, फरवार्ड सिरो इम्मोबिले अनि मिडफिल्डरद्वय निकोलो जानिओलो र लोरेन्जे पेलेग्रिनी चोटका कारण इटालीको टिमबाट बाहिरिसकेका छन् । 
  


Author

थप समाचार
x