फुटबल

विश्वकपमा छनौट भएपछि कतारको आलोचना गर्ने इंग्ल्या‍न्डको योजना

इकागज |
कात्तिक २९, २०७८ सोमबार १३:४० बजे

काठमाडौँ- विश्वकप छनौटमा इंग्ल्यान्ड युरोपतर्फको समूह ‘आई’मा छ । इंग्लिस टिमको नौ खेलबाट २३ अंक छ भने दोस्रो स्थानको पोल्यान्डको उति नै खेलबाट २० अंक छ । समूह विजेता विश्वकपका लागि स्वतः छनौट हुने हुँदा इंग्ल्यान्डको ध्येय समूह विजेता बन्‍नुमै छ । इंग्ल्यान्ड र पोल्यान्डले समूहमा एक–एक खेल खेल्न बाँकी छ ।

सोमबार राति इंग्ल्यान्डले पुच्छारमा रहेको सान मरिनाको सामना गर्दैछ भने दोस्रो स्थानको पोल्यान्ड घरेलु मैदानमा हंगेरीविरुद्ध उत्रनेछ । कमजोर सान मरिनोलाई पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान सुरक्षित गर्ने अनुमान गर्नेछ । 


विश्वकपमा आफ्नो सहभागिता पक्का गरेपछि विश्वकप आयोजकको विरोध र आलोचना गर्ने दाउमा इंग्लिस खेलाडीहरू छन् । विश्वकप आयोजक कतारको आलोचनामा यसअघिबाटै युरोपका विभिन्‍न टिम उत्रिसकेका छन् । उसो त कतारले विश्वकप आयोजना अधिकार पाउँदा नै यसको विरोध भएको छ । मानव अधिकार रक्षको मामलामा कतार पछाडि रहेकाले उसको आलोचना हुँदै आएको बताइएको छ । 

जर्मनी, दी नेदरल्यान्ड्स, नर्वे जस्ता टिमका खेलाडीहरूले विभिन्‍न तारिका अपनाएर कतारको विरोध र आलोचना गरेका छन् । तर इंग्ल्यान्ड भने अहिलेसम्म यो सूचीमा थपिएको छैन । विश्वकपमा स्थान पक्का गरिसकेपछि मात्रै आफूहरू त्यता केन्द्रित हुने इंग्लिस खेलाडीहरूको भनाइ छ । 

‘कतारमा मानव अधिकारको अवस्था के छ भन्‍ने तथ्यसँग हामी बेखबर छैनौँ । तर अहिलेका लागि हाम्रो ध्यान छनौटमै छ । विश्वकपमा सहभागिता पक्का गरेपछि हामी कतारको विषयमा बोल्नेछौँ । हुन त यसबारे हामीले सल्लाह गरिसकेका छैनौँ । तर खेलाडीका रुपमा हामीले जे गर्न सक्छौँ, जसरी आवाज उठाउन सक्छौँ, त्यो हामी गर्नेछौँ,’ इंग्ल्यान्डका रक्षक तथा उल्भरह्याम्पटनका कप्तान कोनर कोएडीले भनेका छन् ।

इंग्ल्यान्डका खेलाडीहरूले विभिन्‍न समयमा सामाजिक विषयमा आफ्नोतर्फबाट आवाज उठाउँदै आइरहेका छन् । मार्कस रासफोर्डले गरिबी निवारणमा सहयोग गरेका छन् भने जोर्डन हेन्डेरसनले इंग्लिस स्वास्थ्यकर्मीलाई आर्थिक सहयोग गरेका छन् । ‘हाम्रो टिममा सामाजलाई योगदान गर्नुपर्छ भन्‍ने मानसिकता बोकेका खेलाडी छन् । आफ्नो लोकप्रियतालाई कसरी प्रयोग गर्ने भन्‍नेबारे हामी सचेत छौँ । यसकारण हामी मानव अधिकारका विषयमा पनि सचेत छौँ,’ कोएडीले भनेका छन् । 

सान मरिनोविरुद्ध इंग्ल्यान्डले आफ्ना मुख्य खेलाडीहरूलाई आराम दिनेछ । सान मरिनो पुगेको टिममा ज्याक ग्रेलिस, म्यासन माउन्ट, लुक स र रहिम स्टर्लिङ छैनन् । बरु कोनर गालागर यो खेलका लागि टिममा बोलाइएका छन् ।    


Author

थप समाचार
x