फुटबल

एस्टन भिल्लाबाट बर्खास्त भएका डिन स्मिथ नर्विचको प्रशिक्षक

इकागज |
कात्तिक २९, २०७८ सोमबार १४:४८ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको नर्विच सिटीले डिन स्मिथलाई प्रशिक्षकमा नियुक्त गरेको छ । डानियल फार्केलाई एक साताअघि बर्खास्त गरेको नर्विचले स्मिथलाई सोमबार प्रशिक्षकको जिम्मेवारी दिएको हो । नर्विचबाट फार्के हटेको एक दिनपछि स्मिथले एस्टन भिल्ला छाडेका थिए ।

नर्विचमा स्मिथलाई साढे दुई वर्षका लागि प्रशिक्षकमा नियुक्त गरिएको हो । ‘पछिल्लो एक साता मेरा लागि असाध्यै कठिन रह्यो । अन्ततः प्रशिक्षणमा फेरि फर्केको छु । नर्विचमा विगतमा राम्रो काम भएको छ । यसलाई निरन्तरता दिने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ । नर्विच ठूलो क्लब हो । क्लबलाई समर्थन गर्नेको संख्या ठूलो छ । कुनैबेला नर्विच युरोपियन क्लब फुटबलमा थियो । हामीले नर्विचलाई फेरि बलियो बनाउनु छ,’ स्मिथले भनेका छन् । 


प्रिमियर लिगमा नर्विचले आउँदो शनिबार साउथह्याम्पटनको सामना गर्दैछ । यही खेल स्मिथका लागि नर्विचको प्रशिक्षकका रुपमा पहिलो खेल हुनेछ । ५० वर्षिय स्मिथले यसअघि बे्रन्टफोर्ड र वालसालको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । उनकै नेतृत्वमा भिल्ला प्रिमियर लिगमा बढुवा भएको थियो । प्रिमियर लिगमा बढुवा भएको सिजन भिल्ला १७ औँ स्थानमा रह्यो । गत सिजन भने भिल्लाले ११ औँ स्थान प्राप्त गर्‍यो । 

तर यस सिजन भने स्मिथले भिल्लालाई बलियो सुरुवात दिलाउन सकेनन् । ११ खेलपछि भिल्ला १६ औँ स्थानमा छ । स्मिथको नयाँ क्लब नर्विच भने अंक तालिकाको पुच्छारमा छ । नर्विचको खातामा ११ खेलबाट पाँच अंक छ । यस्तोमा स्मिथको काँधमा नर्विचलाई रेलिगेसनबाट बचाउने जिम्मेवारी छ । 


 


Author

थप समाचार
x