फुटबल

कतार विश्वकपका लागि छनौट हुने १३ औँ टिम बन्यो अर्जेन्टिना

इकागज |
मंसिर १, २०७८ बुधबार १०:३६ बजे

काठमाडौँ- अर्जेन्टिना विश्वकप २०२२ का लागि छनौट हुने दोस्रो दक्षिण अमेरिकी टिम बनेको छ । बुधबार बिहान ब्राजिलसँग गोलरहित बराबरीमा रोकिए पनि अर्जेन्टिनाले कतार विश्वकपका लागि स्थान सुरक्षित गर्‍यो । आउँदो विश्वकपका लागि यसअघि आयोजक कतारसहित १२ टिम छनौट भइसकेका थिए । कतारको टिकट काट्ने १३ औँ टिम बनेको छ, अर्जेन्टिना ।   

विश्वकपमा छनौट हुन आफ्नो नतिजामा मात्रै निर्भर थिएन, अर्जेन्टिना । दक्षिण अमेरिकी छनौटका अन्य खेलमा चिली र उरुग्वेले पराजय बेर्होनु पर्ने थियो । नतिजा आयो अर्जेन्टिनाले चाहे जस्तै । चिली आफ्नै घरमा इक्वेडरसँग २–० ले पराजित भयो । उता उरुग्वेलाई बोलिभियाले ३–० को नतिजाले स्तब्ध बनायो । यससँगै कोनमेबोल छनौटमा अर्जेन्टिनाले दोस्रो स्थान सुरक्षित गरेको हो । अर्जेन्टिनासँग बराबरी खेलेको ब्राजिल पहिलो स्थान छ । 


ब्राजिलको १३ खेलबाट ३५ अंक भएको छ । जुन अर्जेन्टिनाको भन्दा ६ अंक बढी हो । दक्षिण अमेरिकी छनौटको शीर्ष चारमा रहने टिम विश्वकपमा लागि स्वतः छनौट हुन्छन् । राउन्ड रोबिन लिगमा सञ्चालन भइरहेको दक्षिण अमेरिकी छनौटमा इक्वेडर र कोलम्बिया क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् । १४ खेल खेलिसकेको इक्वेडरको खातामा २३ अंक छ भने चौथो स्थानमा रहेको कोलम्बियाको १७ अंक छ । 

यसपाली कोपा अमेरिका जितेको अर्जेन्टिनाको नजर विश्वकप ट्रफीतर्फ छ । क्लब फुटबलमा अत्याधिक सफल रहेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी राष्ट्रिय टिमबाट पहिलो पटक उपाधि जितेपछि उत्साहित छन् । यसैकारण पनि उनको लक्ष्य विश्वकप जित्दै राष्ट्रिय टिमको करियर समापन गर्ने हो । 

विश्वकपमा छनौट भइसकेका टिमः 
कतार, आयोजक 
जर्मनी, यूईएफए समूह जे विजेता 
डेनमार्क, यूईएफए समूह एफ विजेता 
ब्राजिल, कोनमेबोल शीर्ष चार 
फ्रान्स, यूईएफए समूह डी विजेता 
बेल्जियम, यूईएफए समूह ई विजेता 
क्रोएसिया, यूईएफए समूह एच विजेता 
स्पेन, यूईएफए समूह बी विजेता 
सर्बिया, यूईएफए समूह ए विजेता 
इंग्ल्यान्ड, यूईएफए समूह आई विजेता 
स्विटजरल्यान्ड, यूईएफए समूह सी विजेता 
दी नेदरल्यान्ड्स, यूईएफए समूह जी विजेता 
अर्जेन्टिना, कोनमेबोल शीर्ष चार 


  


 


Author

थप समाचार
x