फुटबल

विश्वकपबाट टाढिँदै चीन

इकागज |
मंसिर १, २०७८ बुधबार १२:२२ बजे

काठमाडौँ- विश्वकप २०२२ का लागि एसियातर्फको छनौट जारी छ । तेस्रो चरणको छनौट चलिरहँदा १२ टिम भिडिरहेका छन् । दुई समूहमा विभाजित यी टिममध्ये चारले कतार विश्वकपका लागि स्थान सुरक्षित गर्नेछन् । दुवै समूहमा तेस्राे रहने दुई टिम चौथो चरणमा पुग्‍नेछन् । जहाँ यी दुई टिम आपसमा प्रतिस्पर्धा गर्नेछन् र विजयी टिम महादेशीय प्लेअअफमा पुग्‍नेछ । 

तेस्रो चरणमा सबै टिमले ६–६ खेल खेलेका छन् । यी खेलका नतिजाबाट इरान समूह ‘ए’ को शीर्ष स्थानमा छ । इरानको खातामा १६ अंक छ । दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको १४ अंक छ । ६ अंकका साथ संयुक्त अरब इमिरेट्स (यूएई) तेस्रो स्थानमा छ । 


उता समूह ‘बी’मा साउदी अरब पहिलो स्थानमा छ । साउदीको १६ अंक छ, जुन दोस्रो स्थानको जापानको भन्दा चार अंकले बढी हो । यो समूहको तेस्रो स्थानमा अस्ट्रेलिया छ । उसको खातामा ११ अंक छ । मंगलबार राति चीनसँग १–१ को बराबरी खेलेपछि अस्ट्रेलियाको ११ अंक भएको हो । 

चीनले आफ्नो घरेलु मैदानमा अस्ट्रेलियालाई स्वागत गर्न नपाएपछि यो खेल यूएईको शारजाहतर्फ सारिएको थियो । जहाँ मिचेल डुकको गोलबाट अस्ट्रेलिया खेलमा अघि बढ्यो । तर चीनले दोस्रो हाफमा गोल फर्कायो । उ लेईले पेनाल्टीमा गोल गरेपछि चीनले एक अंक बटुल्यो । 

बराबरीले अस्ट्रेलियाको विश्वकप छनौट सपना जीवितै छ । तर चीनको लक्ष्यमा भने धक्का पुगेको छ । समूह ‘बी’मा चीनपछि भियतनाम मात्रै छ । समूहको पुच्छारमा रहेको भियतनाम अंकविहीन छ । चीनले अहिलेसम्म एक पटक मात्रै विश्वकप खेलेको छ । जापान तथा दक्षिण कोरियामा सन् २००२ मा भएको विश्वकपमा सहभागिता जनाएको चीन त्यसपछि भने छनौट हुन संर्घषरत छ । 

पछिल्लो समय फुटबलमा करोडौँ अमेरिकी डलर खर्च गरेको चीनले घरेलु लिगलाई समेत मजबुद गर्ने प्रयास गरेको छ । चीनको पहिलो तथा दोस्रो श्रेणीका लिगहरूमा नाम चलेका स्टारहरूको जमघट छ । राष्ट्रिय टिमलाई सुदृढ गर्न विदेशका खेलाडीलाई समेत चिनियाँ नागरिकता दिइएको छ । तर पनि राष्ट्रिय टिमको प्रदर्शनमा सोचे अनुसारको सुधार आउन सकेको छैन । 

एसियली छनौटकै अन्य खेलमा साउदीले भियतनाममाथि १–० को जित हासिल गर्‍यो । साउदीको जितमा सलेह अल शेहरीले गोल गरेका थिए । विश्वपक छनौट नजिक रहेको साउदीले पछिल्ला ६ खेलमा पाँच जित दर्ता गरेको छ । साउदीकै समूहमा रहेको जापानले ओमानलाई १–० ले पराजित गर्‍यो । समूहमा दक्षिण कोरियाले इराकलाई ३–० ले पन्छायो । यही समूहको अर्को खेलमा यूएईले लेबननमाथि १–० को जित दर्ता गर्‍यो । शीर्ष स्थानमा रहेको इरानले भने सिरियालाई ३–० को हार चखायो । 


 


Author

थप समाचार
x