‘पोग्बालाई युनाइटेड छाड्नबाट रोक्न सकिँदैन’
काठमाडौँ- युरोपियन क्लब फुटबलमा खेलाडी एकल स्टार होइनन् । प्रशिक्षक पनि उत्तिकै चिनिने हुन्छन् । अनि क्लब फुटबलमा नभई नहुने एउटा अरु पात्र पनि हुन्छन्, जसको भूमिकालाई नजर अन्दाज गर्न सकिँदैन । जस्तै, एजेन्ट । ठूला स्टार बनिसकेका खेलाडीलाई एउटा क्लबबाट अर्को क्लबमा सरुवा गराउने मूख्य भूमिका एजेन्टकै हुन्छ ।
युरोपियन फुटबलमा केही सुपर एजेन्ट छन् । जो एक्लैले नाम चलेका धेरै खेलाडीको जिम्मेवारी लिएका हुन्छन् । यस्तै एजेन्ट हुन्, मिनो राइओला । बोरुसिया डर्टमन्डका युवा स्ट्राइकर एर्लिङ हालान्ड, पेरिस सेन्ट जर्मेन (पीएसजी)का गोलरक्षक जियानलुइजी डोनारुमा, पीएसजीकै मार्को भेराट्टी लगायतका खेलाडीका एजेन्ट यीनै राइओला हुन् ।
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बाको एजेन्ट पनि राइओला नै हुन् । राइओला बेलाबेला आफ्ना ‘क्लाइन्ट’ खेलाडीबारे हल्ला फिजाइरहेका हुन्छन् । फुटबल समर्थकलाई उत्साहित र निराश बनाउने अभिव्यक्ति दिइरहेका हुन्छन् । राइओलाले हालै यस किसिमको अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘डिसेम्बर महिना सपना देख्नेहरूको महिना हो ।’
उनको यो अभिव्यक्ति पोग्बाबारे हो । ‘डिसेम्बर भनेको मन्थ अफ ड्रिम्स हो । मैले कुनै पनि खेलाडीलाई सपना देख्नबाट रोक्न सक्दिँन । तसर्थ पोग्बा युनाइटेडमै हुन्छन् वा अन्त जान्छन्, अहिले नै अनुमान गर्न सकिँदैन । यदि उनले क्लब छाड्ने निर्णय लिए भने उनलाई रोक्न सक्ने अवस्था हुँदैन,’ राइओलाले इटालियन टेलिभिजन च्यानल राईसँगको अन्तर्वार्तामा भनेका छन् ।
पछिल्लो समय पोग्बा युभेन्टससँग जोडिएका छन् । सिरी ‘ए’ मा सन्तोषजनक प्रदर्शन गर्न नसकिरहेको युभेन्टसले आउँदो जनवरीमा नयाँ खेलाडी अनुबन्ध गर्ने अनुमान गरिएको छ । यहीकारण पोग्बा आफ्नो पुरानो क्लब फर्कन सक्ने अनुमान गरिएको हो ।
हुन त पोग्बाले युनाइटेड छाड्ने निर्णय लिए उनलाई अनुबन्ध गर्न चाहने क्लबको सूचीमा युभेन्टस एक्लो हुने छैन । रियल म्याड्रिड र पीएसजीले पनि पोग्बालाई आ–आफ्नो टिममा भित्र्याउने इच्छा राखिरहेका छन् । यो सिजन पोग्बाको प्रदर्शनले युनाइटेड समर्थक खुशी हुन सकेका छैनन् । उनले सबै प्रकारको प्रतियोगितामा गरी १३ खेल खेलिसकेका छन् । र, ती खेलमा उनले सात असिस्ट दर्ता गरेका छन् । तर पनि उनको क्लबप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठिरहेको छ । यस्तोमा उनले आउँदो सरुवा बजारमा नयाँ क्लब रोज्ने अनुमान गर्न थालिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया