उद्घाटन खेलमा अनुभवी फ्रेन्ड्स र नवप्रवेशी सातदोबाटो आमनेसामने हुँदै
सहीद स्मारक 'ए' डिभिजन लिग
काठमाडौँ- सहिद स्मारक 'ए' डिभिजन लिग शुक्रबारबाट फर्किदैछ । गत साल कोभिड-१९ महामारीका कारण हुन नसकेको लिगको नयाँ संस्करणको पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । कुल १४ क्लबले भाग लिने यो लिगमा फ्रेन्ड्स र सातदोबाटो दुवै ललितपुरका क्लब हुन् ।
गत सिजन ११ औँ स्थानमा रहेको फ्रेन्ड्सको मुख्य लक्ष्य हो, रेलिगेसनबाट बच्ने । बिहीबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रको भनाइ यही थियो । घरेलु फुटबलमा अनुभवी मानिने मृगन्द्रले सुरुवाती खेलमा आउने नतिजाले आफ्नो टिमको लक्ष्य के हुने भन्ने निर्क्याेल गर्ने प्रष्ट पारे । उनले टिमको खेल शैलीबारे खासै धारणा राखेनन् । तर आफ्नो स्वभाविक शैली र रणनीतिमा खेल्ने हो भने प्रदर्शनमा सन्तोषजनक रहने अपेक्षा गरे ।
उता सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टिममा ए डिभिजन खेलिसकेका खेलाडी भएकाले राम्रो नतिजाको अपेक्षा गरेको बताए । बी डिभिजन च्याम्पियन भएर पहिलो श्रेणीमा उक्लेको सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज आफैँ पनि ठूला मानिने क्लब थ्री स्टार र त्रिभुवन आर्मी क्लबको जिम्मेवारी सम्हालिसकेका प्रशिक्षक हुन् ।
‘सातदोबाटो ए डिभिजन लिगमा नयाँ क्लब त हो, तर सानो क्लब भने होइन । हामी नवप्रवेशी क्लब जसरी खेल्ने छैनौँ । पहिलो दिनबाटै लिगको सुरुवात गर्दैछौँ, यसकारण उत्साहित छौँ,’ मेघराजले भने ।
केही महिनादेखि तयारी गरिरहेको सातदोबाटोले नेपाली फुटबलमा स्थापित विदेशी खेलाडीहरूलाई अनुबन्ध गरेको छ । ती खेलाडी हुन्, रक्षक पिटर सेगुन र फरवार्ड अजायी मार्टिन्स । सातदोबाटोले हिमालयन शेर्पाबाट खेल्ने गरेका मानबहादुर तामाङलाई पनि टिममा भित्र्याएको छ ।
‘सातदोबाटा मेरा लागि नयाँ क्लब हो । यो क्लबलाई माथि पुर्याउन सकेको प्रयास गर्नेछु । टिममा अनभुवी विदेशी खेलाडी छन् । उनीहरुको उपस्थितीले अन्य युवा खेलाडीलाई उत्साहित बनाएको छ,’ सातदोबाटोमा कप्तानीको जिम्मेवारी पाएका मानबहादुरले भने ।
खेलस्थान-दशरथ रंगशाला
खेल समय-४ः४५
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया