फुटबल

लिभरपुलमा क्लप नै प्रशिक्षक रहिरहुन् भन्‍ने लाग्छः जेरार्ड

इकागज |
मंसिर ३, २०७८ शुक्रबार ११:१० बजे

काठमाडौँ- लिभरपुल समर्थकका लागि प्रिय रहेका स्टिभन जेरार्डले इंग्लिस प्रिमियर लिगमा प्रशिक्षकको हैसियतमा डेब्यु गर्दैछन् । लामो समय लिभरपुलको कप्तानी गरेका जेरार्डले स्कटिस क्लब रेन्जर्सबाट प्रशिक्षण करियर सुरु गरेका थिए । जहाँ उनले रेन्जर्सलाई स्कटिस लिग जिताए । भविष्यमा लिभरपुलको प्रशिक्षक बन्‍ने सपना बुनेका जेरार्ड अन्ततः प्रिमियर लिग आइपुगेका हुन् । जहाँ उनले आफूलाई प्रमाणित गर्नु पर्नेछ । 

आउँदा शनिबार हुने ब्राइटनसँगको खेलअघि आयोजित पत्रकार सम्मेलनमा जेरार्डलाई प्रश्न सोधियो, के उनले भिल्लाको जागिरलाई लिभरपुलसम्म पुग्ने माध्यम बनाएका हुन् ? यो प्रश्न सोधिनु स्वभाविक हो । किनभने लिभरपुलका समर्थक यही सोच्छन् । यस्तै सोच्छन् प्रिमियर लिग रुचाउने अन्य फुटबल प्रेमी पनि । 


तर जेरार्डले उति यो प्रशनलाई उती रुचाएनन् । अनि भनिदिए, ‘फुटबलमा सपना देख्‍न वर्जित छैन । तर हाल लिभरपुलमा विश्व स्तरिय प्रशिक्षक छन् । यदि उनी लिभरपुलमा अझै लामो समय रहन चाहन्छन् भने म उनको निर्णयमा हर्षित हुनेछु । सर्वप्रथम म लिभरपुलको समर्थक हुँ । यसकारण यदि योर्गन क्लप जस्ता प्रशिक्षक त्यहाँ रहिरन्छन् भने योभन्दा खुशीको कुरा अर्को हुँदैन ।’

उनले हाल आफू भिल्लामै केन्द्रित रहन चाहेको र यो क्लबलाई सफल बनाउन आफूले भरमग्दुर प्रयास गर्ने जेरार्डको प्रष्टीकरण थियो । ‘भिल्ला सानो क्लब होइन । यो क्लबको प्रशिक्षक बन्‍न पाउनु मेरो अहोभाग्य हो । आफ्नो जिम्मेवारीमा म शत प्रतिशत प्रतिबद्ध छु,’ जेरार्डले भने । 

उता लिभरपुलका प्रशिक्षक क्लपलाई पनि जेरार्डबारे प्रश्न सोधियो । जवाफमा क्लपले भिल्लका लागि जेरार्ड उपयुक्त प्रशिक्षक भएको र अब उप्रान्त भिल्लाको खेल थप नजिकबाट नियाल्ने प्रतिक्रिया दिए ।

‘जेरार्ड भिल्लाको प्रशिक्षक बनेकोमा म अत्यन्त हर्षित छु । भिल्ला प्रिमियर लिगको ठूलो क्लब हो । यसकारण पनि जेरार्ड आफ्नो निर्णयमा सन्तुष्ट रहेको हुनुपर्छ । केही सातपछि हाम्रो भेट हुनेछ । मैले उनलाई सन्देश पनि पठाइसकेको छु । उनी नेतृत्वको टिमसँग खेल्न हामी आतुर छौँ,’ क्लपले लिभरपुलको आधिकारिक वेबसाइटसँग भनेका छन् । लिभरपुलले सेप्टेम्बर ११ मा जेरार्ड र भिल्लालाई एनफिल्डमा स्वागत गर्नेछ । 


Author

थप समाचार
x