फुटबल

हिमालयन शेर्पा र संकटाको बराबरी, लिगमा डेब्यु गरेका दुवै प्रशिक्षक नतिजाबाट सन्तुष्ट

इकागज |
मंसिर ४, २०७८ शनिबार १६:२० बजे

फाेटाे: अनुज बज्राचार्य

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिजिन लिगमा शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ को बराबरी खेले । दुवै गोल दोस्रो हाफमा भए । पहिलो हाफमा दुवै टिमले स्पष्ट मौका सिर्जना गर्न सकेका थिएनन् । तर दोस्रो हाफमा खेलमा सुधार आयो । लक्ष्मण रुचालको गोलबाट संकटाले अग्रता लियो । त्यसको चार मिनेटपछि नै हिमालयन शेर्पाले गोल फर्कायो । उसका लागि त्रिदेव गुरुङले गोल गरे । 

खेल ६० मिनेटमा चल्दै गर्दा संकटाले गोलको मौका सिर्जना गर्‍यो । सुवास गुरुङको लामो क्रसलाई हिमालयन शेर्पाका गोलरक्षक दीप कार्कीले पूर्णरुपमा नियन्त्रणमा लिन नसकेपछि संकटा खेलमा अघि बढ्यो । दीपले फुत्काएको बललाई बक्समा अनमार्क रहेका लक्ष्मणले नियन्त्रणमा लिए र नयाँ सिजनको लिगको पहिलो गरे । उनी म्यान अफ दी म्याचसमेत बने । 


चार मिनेटपछि हिमालयन शेर्पाका त्रिदेवले आर्कषक गोल गरे । जीवन गुरुङले राइट विंगबाट दिएको क्रसलाई त्रिदेवले सुन्दर हेडर गोलमा परिणत गरे । गोल गर्ने क्रममा घाइते बन्‍न पुगेका त्रिदेव मैदान छाड्न बाध्य भए । 

संयोगवश लिगको उद्घाटन खेल पनि बराबरीमा टुंगिएको थियो । फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबले गोल गर्न नसकेको खेल निरश देखिन्थ्यो । दोस्रो खेल भने केही फरक रह्यो । विशेष गरी दोस्रो हाफमा दुवै टिमले निरन्तर मुभ बनाइरहे । लिग सुरुवाती चरणमै रहँदा अर्को संयोग पनि देखियो । त्यो के भने लिगको दोस्रो खेलबाट दुई प्रशिक्षकले घरेलु फुटबलको सर्वोच्च प्रतियोगितामा डेब्यु गरे।  

लिगमा हिमालयन शेर्पाका युगल किशोर राई र संकटाका विष्णु गुरुङ पहिलो पटक मुख्य प्रशिक्षकका हैसियतमा टचलाइनमा देखा परे । दुवै मुख्य प्रशिक्षक आ–आफ्ना टिमको प्रदर्शनबाट सन्तुष्ट देखिए । ‘दुवै टिमले अनुशासित भएर खेले । सुरुदेखि अन्तिमसम्मै ट्याक्टिकल डिसिप्लिन देखिन्थ्यो । मेरा खेलाडीहरुले योजना अनुरुप नै खेले । जित निस्किएन तर खेलाडीहरुले सिस्टममा बसेर खेले । म सन्तुष्ट छु,’ युगलले भने । 

उता संकटाका मुख्य प्रशिक्षक विष्णुले आफ्नो टिममा युवा तथा पाका खेलाडीको समिश्रण भएकाले भनेजस्तो टिम सेट हुन समय लाग्ने प्रतिक्रिया दिए । ‘मेरा लागि यो डेब्यु खेल थियो । मेरो योजना हाइ प्रेस गम खेल्ने हो । तर यो शैली पूर्णरुपमा लागू गर्न केही समय लाग्छ । टिममा युवा र पाका दुवै प्रकारका खेलाडी छन् । टिम सेट हुन पनि समय लाग्छ नै । तसर्थ आजको नतिजाबाट म सन्तुष्ट छु,’ विष्णुको भनाइ थियो । 

प्रशिक्षकका रुपमा लिगमा भर्खरै डेब्यु गरेका भए पनि युगल र विष्णुसँग खेलाडीका रुपमा लामो समय यो लिग खेलेको अनुभव छ । युगलले थ्रीस्टार, मनाङ मर्स्याङदी लगायतका क्लबबाट नेपालको पहिलो डिजिन खेलेका थिए भने विष्णुले पनि आफूले प्रशिक्षण दिइरहेको क्लबमा लामो समय बिताएका थिए । यसै वर्ष आयोजना भएको फ्रेन्चाइज लिगमा धनगढी एफसी उप–विजेता बन्दा युगल सो टिमका प्रशिक्षक थिए । उता विष्णुले गत असोजमा स्पोर्टस कासललाई ए डिभिजन फुटसल लिग च्याम्पियन बनाएका थिए । 
   
 
 


Author

थप समाचार
x