सहिद स्मारक लिगमा गोलको मात्रा बढ्दै
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो चरण जारी छ । आइतबारको पहिलो खेलमा ब्रिगेड ब्याइज क्लब र एपीएफ फुटबल क्लब आमनेसमाने भए । खेल ब्रिगेड ब्याइजले ३–२ ले जित्यो । तर नतिजाको छिनोफानो भने खेलको उत्तर्राद्धमा मात्रै भयो । लिगमा चार खेल सकिँदा १० गोल भइसकेको छ । उद्घाटन खेलमा गोल नभए पनि त्यसपछिका खेलमा भने निरन्तर गोल भइरहेको छ ।
एपीएफविरुद्ध दशरथ रंगशालामा दिनेश राईको गोलमार्फत ब्रिगेड ब्याइजले ११ औँ मिनेटमा अग्रता लिएको थियो । राइट विंगबाट खेलिरहेका दिनेशले फ्रिकिकमा सुन्दर गोल गरेका थिए । ब्रिगेड ब्याइजले गोल गरेको ६ मिनेटपछि नै एपीएफ खेलमा फर्कियो । आशिष लामाले आवास लामिछानेको पासमा बराबरी गोल गरे ।
दोस्रो हाफमा ब्रिगेड ब्याइजले अग्रता लियो । यसपालि पनि गोलकर्ता दिनेश नै बने । वैकल्कि खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुरज गुरुङले एपीएफका तीन खेलाडीलाई बिट गरेर मिलाइदिएको पासलाई दिनेशले गोलमा रुपान्तरण गरे ।
खेलमा हावी भइरहेको ब्रिगेडविरुद्ध एपीएफले फेरि गोल फर्कायो । एपीएफको दोस्रो गोलका लागि दोस्रो हाफमा मैदान छिरेका विके तामाङ र रवी थिङले साझेदारी गरे । विकेले रवीले दिएको क्रसमा हेडर गोल गरेका थिए ।
खेल बराबरीमा टुंगिने संकेत देखा पर्दै गर्दा सुरज नायक बने । ब्रिगेड ब्याइजको दोस्रो गोलका लागि पास मिलाएका सुरजले ९२ औँ मिनेटमा विजयी गोल गरे ।
पहिलो खेलमा जित हासिल गरेपछि ब्रिगेड ब्याइजका मुख्य प्रशिक्षक सनोज श्रेष्ठ दंग देखिए । ‘पहिलो खेलमा जित हासिल गर्नु महत्वपूर्ण रहन्छ । तीन अंक बटुल्दा राहत महशुस भएको छ । यसले हामीलाई आत्मविश्वासी बन्न मद्दत गर्नेछ । हाम्रा तीन वटै गोलमा खेलाडीहरूबीच राम्रो साझेदारी देखियो । तर रक्षापंक्तिमा भने सुधारको आवश्यकता छ । विशेष गरी विपक्षीलाई मार्क गर्ने मामलामा हामी केही कमजोर देखियौँ,’ सनोजको भनाइ थियो ।
उता एपीएफका मुख्य प्रशिक्षक कुमार थापाले भने आफ्नो टिमले योजना अनुसारको खेल्न नसकेको प्रतिक्रिया दिए । ‘हामीले बल होल्ड गर्न सकेनौँ । खेलाडीहरूले एउटा संरचनामा बसेर खेल्न सकेनन् । मिडफिल्डमा समस्या देखिएको छ । मिडफिल्ड र स्ट्राइकरबीच कनेक्सन भएन । अब बाँकी खेलमा हामीले सुधार गर्न आवश्यक छ,’ कुमारले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया