फुटबल

म्यानचेस्टर युनाइटेडको प्रस्तावको पर्खाइमा पोचेटिनो

इकागज |
मंसिर ६, २०७८ सोमबार १७:४५ बजे

काठमाडौँ- ओले गनर सोल्स्यारले बिदा लिएपछि म्यानचेस्टर युनाइटेडमा प्रशिक्षकको पद खाली छ । यस्तोमा नाम चलेका कयौँ प्रशिक्षक युनाइटेडसँग जोडिएका छन् । हालका लागि पूर्वखेलाडी माइकल क्यारिकको जिम्मामा टिम रहे पनि युनाइटेडले जति सक्दा चाँडो नयाँ प्रशिक्षक भित्र्याउने योजना बनाएको छ । 

यसका लागि युनाइटेडले विभिन्‍न प्रशिक्षकमाथि आँखा लगाइरहेको छ । माउरिसियो पोचेटिनो पनि युनाइटेडको नजरमा छन् । टोटनहममा रहँदा नै पोचेटिनो युनाइटेड जाने हल्ला चलेको थियाे । तर टोटनहमबाट बर्खास्तीमा परेपछि पोचेटिनोको युनाइटेड स्थान्तरण जुरेन । बरु उनी पेरिस सेन्ट जर्मेन (पीएएसजी)सँग आबद्ध भए ।  


यसपालि फेरि पोचेटिनो युनाइटेडसँग जोडिएका छन् । बेलायती सञ्चार माध्यम बीबीसीका अनुसार युनाइटेड प्रशासन पोचेटिनोसँग प्रभावित छ । तर मध्य सिजनमा उनलाई पीएसजीबाट खोस्‍न सकिनेमा भने युनाइटेड विश्वस्त नरहेको बीबीसीको भनाइ छ । यद्यपि पोचेटिनो आफैँले पीएसजीलाई आफू ओल्ड ट्राफोर्ड जान इच्छुक रहेको सन्देश दिने हो भने उनको स्थान्तरणका लागि औपचारिक कदम युनाइटेडले चाल्ने अनुमान गरिँदै छ । 

यतिबेला पोचेटिनोलाई युनाइटेडले औपचारिक प्रस्ताव भने राखिहालेको छैन । पोचेटिनो पीएसजीमा खासै सन्तुष्ट छैनन् । असन्तुष्ट रहनुको कारण उनलाई दिइएको सीमित अधिकार हो । पीएसजीमा पोचेटिनोलाई खेलाडी किनबेचको अधिकार दिइएको छैन । यसका लागि लियानार्दो छन् । टोटनहममा रहँदा अधिकतम अधिकारको अभ्यास गरेका पोचेटिनो आफू कार्यरत क्लबमा स्वतन्त्रता चाहन्छन् । यसकारण पनि उनी पीएसजी छाड्न चाहन्छन् । 

यद्यपि पोचेटिनो पीएसजीलाई आफू बाहिरिन चाहेको सन्देश दिन चाहिरहेका छैनन् । तर युनाइटेडले प्रस्ताव राख्ने हो भने उनले नकार्ने अवस्था रहँदैन । पीएसजी पहिलेबाटै जिनेदिन जिदानलाई प्रशिक्षक बनाउन लालयित रहेकाले पोचेटिनोको स्थानमा उनैलाई लाने सम्भावना प्रबल छ । 

हुन त युनाइटेडले तयार पारेको सम्भावित प्रशिक्षकको सूचीमा अन्य प्रतिभाशाली प्रशिक्षक पनि छन् । जस्तै, आयाक्सका एरिक टेन हाग, ब्रेन्डन रोजर्स, लौउरेन्ट ब्लान्क । जे होस्, युनाइटेडले नयाँ प्रशिक्षक नियुक्त गर्नअघि निकै गृहकार्य गर्ने देखिन्छ । 


 



 


Author

थप समाचार
x