सकियो पहिलो चरण, सात खेलमा भयो १६ गोल
सहिद स्मारक ‘ए’ डिभिजन लिग
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो चरणका खेलहरू सकिएका छन् । पहिलो चरणमा सात खेल सम्पन्न भएका छन् । लिगमा सहभागी कुल १४ क्लबले एक–एक खेल खेल खेलेका छन् । यी टिममध्ये थ्रीस्टार क्लब शीर्ष स्थानमा छ ।
थ्रीस्टारसँगै मनाङ मस्र्याङ्दी क्लब, ब्रिगेड ब्याइज क्लब र मछिन्द्र एफसीले पहिलो चरणमा जित हात पारे । यी सबै टिमको तीन–तीन अंक भए पनि गोल भिन्नताका आधारमा थ्रीस्टारले शीर्षस्थानमाथि कब्जा जमाएको हो ।
पहिलो चरणमा चार जित निस्कदा अन्य तीन खेल भने बराबरीमा सकिए । उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दा लिगको दोस्रो खेलमा पनि विजेताको टुंगो लागेन । यो खेलमा हिमालयन शेर्पा क्लब र संकटा युथ क्लबले १–१ को बराबरी खेले । सोमबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबले पनि १–१ कै बराबरी खेले ।
पहिलो चरणका सबै खेल दशरथ रंगशालामा भए । यी खेलमा कुल १६ गोल भए । ब्रिगेड ब्याइजका दिनेश राई र मछिन्द्रका सुनिल बलको नाममा दुई–दुई गोल रहेको छ । गोल गर्ने अन्य खेलाडीमा त्रिदेव गुरुङ, लक्ष्मण रुचाल, निशान खड्का, राफाएल बिडिएस रिम्स र अनन्त तामाङ छन् ।
त्यसैगरी गोलकर्ताको सूचीमा सुरज गुरुङ, आशिष लामा, बिक्की तामाङ, विवेक बस्नेत, सन्तोष हेमरन र एरिक विष्ट पनि छन् । लिगमा दोस्रो चरणका खेल आगामी शुक्रबारबाट मात्रै सुरु हुनेछन् । दोस्रो चरणको पहिलो खेलमा ललितपुरका दुई क्लब सातदोबाटो र थ्रीस्टार आमनेसामने हुनेछन् । सोही दिन हुने दोस्रो खेलमा संकटाको भेट फ्रेन्ड्ससँग हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया