फुटबल

भाल्भुएना मामलामा बेन्जेमा दोषी ठहर, उनको करियर भने नरोकिने

इकागज |
मंसिर ८, २०७८ बुधबार १८:३ बजे

काठमाडौँ- सन् २०१५ मा फ्रेन्च फुटबलर माथ्यु भाल्बुएनाले मार्से सहरमा एक्सेल आन्गोट नाम गरेका एक चिनजानका व्यक्तिलाई आफ्नो मोबाइल फोन दिए र त्यसमा भएका ‘कन्टेन्ट’लाई अर्को मोबाइल फोनमा सारिदिन भने । आन्गेट फ्रेन्च फुटबल सर्कलकै व्यक्ति भएकाले उनीसँग भाल्बुएनाको चिनजान हुनु स्वभाविक थियो । उनै आन्गेटले भाल्भुएनाको मोबाइल फोनमा अश्लिल फोटो तथा सन्देश भेटे । त्यसपछि उनले ती अश्लिल फोटो तथा सन्देशलाई सार्वजनिक गरिदिने भनेर भाल्बुएनालाई धम्की दिन सुरु गरे । यसमा आन्गेटलाई साथ दिने अर्का व्यक्ति थिए, मुस्ताफा जौएओई । 

भाल्भुएनाले स्थानीय प्रहरीकोमा उजुरी गरे । प्रहरीले ‘स्टिङ अप्रसेन’ चलाउने निर्णय गर्‍यो । त्यसपछि प्रहरीको फन्दामा करिम जेनाटी नाम गरेका व्यक्ति पनि परे । जो फ्रान्सकै फुटबल खेलाडी करिम बेन्जेमाका साथी थिए । प्रहरीले के निस्कर्ष निकाल्यो भने, भाल्भुएनालाई धम्की दिएर पैसा असुल्न खोज्‍ने समूह र भाल्भुएनाबीचको पुल उनै बेन्जेमा थिए । 


बेन्जेमाले भाल्भुएनालाई धम्की दिने समूहलाई पैसा दिएर मामला सुल्झाउन सल्लाह दिएको प्रहरीको भनाइ छ । यति मात्रै होइन, बेन्जेमाले भाल्भुएनालाई आफूले त्यस समूहसँग ‘डिल’ गर्नका लागि सघाउन सकने मान्छेसँग परिचय गराइदिने पनि बताए । बेन्जेमाले परिचय गराइदिने व्यक्ति अरु कोही नभएर तीनै जेनाटी थिए । 

अनुसन्धानका क्रममा प्रहरीले बेन्जेमाको फोन ट्याप गरेको थियो । बेन्जेमा र जेनाटी निरन्तर सम्पर्कमा रहेको भेटियो । अनुसन्धान सम्पन्‍न गरेपछि प्रहरीले पाँच जनाविरुद्ध मुद्दा गर्‍यो । ती पाँच जना विपक्षीमा बेन्जेमा पनि परे । यही मुद्दाको फैसला बुधबार सुनाइएको छ । जसमा बेन्जेमालाई एक वर्षका लागि ‘सस्पेन्डेड जेल’को फैसला सुनाइएको छ । अनि ७५ हजार युरोको जरिवना पनि सुनाइएको छ । बेन्जेमाका वकिलले अदालतले दिएको फैसलाविरुद्ध पुनरावेदन जाने बताएका छन् । 

अदालतको फैसलासँगै लामो समयको अनुपस्थितीपछि फ्रेन्च राष्ट्रिय टिममा फर्किएका बेन्जेमाले अबका दिनमा राष्ट्रिय टिमबाट खेल्ने मौका पाउछन् वा पाउँदैनन् भन्‍ने चिन्ता जाहेर गरिएको छ । यसको जवाफ फ्रेन्च फुटबल संघका अध्यक्ष नोएल ले ग्राएटले दिएका छन् । उनले बेन्जेमा राष्ट्रिय टिमका लागि उपलब्ध भइरहने प्रष्ट पारेका छन् ।

‘उनले कयौँ वर्ष फ्रेन्च टिमबाट खेल्न पाएनन् । गत युरोबाट उनी टिममा फर्किएका छन् । अदालतको फैसलाका कारण उनलाई टिममा नराख्ने भन्‍ने हुँदैन । आउँदा खेलहरूमा उनी टिममा पर्ने सम्भावना सकिएको छैन । राष्ट्रिय टिमबाट खेल्न पाउने उनको अधिकार खोसिँदैन । हामी सबैले गल्ती गर्न सक्छौँ, जेल जान सक्छौँ तर हाम्रो काम गर्ने अधिकार हनन हुँदैन,’ ग्राएटले भनेका छन् । 

अदालतको फैसलाले बेन्जेमाको करियरलाई असर गर्ने देखिँदैन । किनभने उनी जेल जानु पर्ने छैन । बेन्जेमाविरुद्ध फैसला आए पनि उनले आफूले कुनै गल्ती नगरेको बताउँदै आएका छन् । उनले आफूले भाल्भुएनालाई सहयोग गर्न खोजेको दाबी गर्दै आएका छन् । उता यो मामलामा जोडिएका मुस्ताफालई २६ महिनाको जेल सजाय तोकिएको छ भने आन्गोट पनि दुई वर्षका लागि जेलमा रहनेछन् । 
 


 


Author

थप समाचार
x