एसियाली क्लब फुटबलमा साउदीको अल हिलालको कीर्तिमान
काठमाडौँ- युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग समूह चरणमै रहँदा यही प्रकृतिको एसियाली प्रतियोगिता एएफसी च्याम्पियन्स लिगले भने विजेता टिम पाएको छ । मंगलबार राति भएको फाइनलमा दक्षिण कोरियाको पोहाङ स्टिलर्सलाई २–० ले पराजित गर्दै साउदी अरबको अल हिलाल एएफसी च्याम्पियन्स लिग च्याम्पियन बनेको हो ।
अल हिलालले चौथो पटक यो प्रतियोगिता जितेको हो । जुन एसियाली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको इतिहासमा नयाँ कीर्तिमान हो । साउदीको राजधानी रियादको किंग फाद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा स्थानीय टिमले पहिलो मिनेटमै अग्रता लिएको थियो । किक अफ हुने बित्तिकै अल हिलालका नासेर अल डावसरीले बल नियन्त्रणमा लिँदै गोल गरेका थिए । ५० हजार घरेलु समर्थकको साथ पाएको अल हिलालले दोस्रो गोल भने ६३ औँ मिनेटमा गरेको थियो । उसका लागि मौसा मारेगाले गोल गरे ।
‘हामी एसियाकै सर्वोत्कृष्ट टिमका रुपमा सावित भएका छौँ । यो स्थानसम्म मेहेनतका कारण आइपुगेका हौँ । यो फाइनल खेल असाध्यै कठिन रह्यो । किनभने विपक्षी टिमले हामीलाई बलियो टक्कर दियो । दुई वर्षपछि पुन एसियाली च्याम्पियन बन्न पाउँदा हामी अवश्य पनि हर्षित छौँ,’ अल हिलालका कप्तान सलमान अल फराजले भने ।
अल हिलालसँग भिडेको पोहाङ तीन पटक एएफसी च्याम्पियन्स लिग जितेको टिम हो । तर उसले सन् २०१९ मा पनि च्याम्पियन बनेको अल हिलाललाई कीर्तिमान राख्नबाट रोक्न सकेन ।
एसियाली च्याम्पियन्स लिग विजेता बने वापत अल हिलालले क्लब विश्वकपमा स्थान पक्का गरेको छ । सन् २०२२ को जनवरीमा हुने भनिएको क्लब विश्वकपमा अल हिलालबाहेक यूईएफए च्याम्पियन्स लिग च्याम्पियन चेल्सी, र कोनकाकाफबाट मेक्सिकोको मोन्टेरे सहभागी हुनेछन् । यसैगरी अफ्रिका महादेशको प्रतिनिधित्व इजिप्टको अल अहली पनि सहभागी हुनेछ । दक्षिण अमेरिकाबाट भने पालमिरास वा फ्लामेङ्गोले क्लब विश्वकपमा स्थान पक्का गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया