फुटबल

पीएसजीलाई हराउँदै सिटी समूह विजेता

इकागज |
मंसिर ९, २०७८ बिहीबार ८:११ बजे

काठमाडौँ- स्टार खेलाडीले भरिएको पेरिस सेण्ट जर्मेनलाई पराजित गर्दै म्यानचेष्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ ।

बुधबार राति सिटीले घरेलु मैदान एतिहादमा पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । 


भ्रमणकारी टोली पिएसजीका केलियन एम्बाप्पेले खेलको ५०औँ मिनेटमा टोलीको लागि अग्रता लिएका थिए ।  तर रहिम स्टर्लिङले खेलको ६३ मिनेटमा बराबरी गोल गरे भने ग्याब्रीएल जेससले ७६ मिनेटमा २–१ को अग्रता बनाए । 

स्पेनिस क्लब रियम मड्रिडबाट पेरिस झरेका सर्जियो रामोस सिटीविरुद्ध टोलीमा समावेश भएपनि डेब्यु भने गर्न पाएनन् । सिटीविरुद्ध पिएसजीले लियोनल मेस्सी, नेयमार र एमबाप्पेको जोडीलाई अग्रपंक्तिको जिम्मेवारी दिएपनि सफल भएनन् । 

यस समूहबाट सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउँदा पिएसजी उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनायो । 

समुह ए को अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५–० ले पराजित गर्‍याे । जितसँगै सिटीले ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थान कब्जा गर्‍याे ।  पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । लाइपजित र ब्रुगको समान ४ अंक रहेको छ ।


Author

थप समाचार
x