फुटबल

‘सी’ डिभिजन लिग फुटबल चैतमा

इकागज |
पुस ९, २०७७ बिहीबार २०:२३ बजे

काठमाडौँ  : स्थगित भएको २०७६ सालको शहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्‍चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीसँग बिहीबार छलफल गर्दै गत वर्ष चैतमा स्थगित भएको लिग पुनः सञ्‍चालन गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसको महामारीका कारण सी डिभिजन लिग स्थगित भएको थियो । गत वर्ष स्थगित भएका  घरेलु प्रतियोगिता यस वर्षभित्रै सम्पन्‍न गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।  


सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई नौ लाख सहयोग गर्ने भएको छ । यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले सात लाख आर्थिक सहयोग गर्दै आएको थियो । छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, लिग कमिटीका संयोजक विज्ञानराज शर्मालगायत एन्फा पदाधिकारी सहभागी थिए । 

 एन्फाले बुधबार मात्र २०७६ सालमा कोरोनाका कारण स्थगित गरिएको सहिद स्मारक ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि पुनः सञ्‍चालन गर्ने निर्णय गरेको थियो । नौ महिनाअघि बीचमै रोक्नुपरेको लिगलाई एन्फाको लिग कमिटीले पुनः सञ्‍चालन गर्ने निर्णय गरेको प्रवक्ता राईले बताए । लिग सञ्‍चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने छ । 
(रासस)


Author

थप समाचार
x