फुटबल

‘एउटा हारले पीएसजीको क्षमतामाथि प्रश्न उठ्नु हुँदैन’

इकागज |
मंसिर ९, २०७८ बिहीबार १२:३२ बजे

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार राति च्याम्पियन्स लिगको खेलमा म्यानचेस्टर सिटीसँग पराजित भयो । दोस्रो हाफको सुरुवातमा किलियान एम्बाप्पेको गोलबाट अग्रता लिएको पीएसजीले त्यसपछि सरासर दुई गोल खायो । सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र गाब्रियल जेजुसले एक–एक गोल गरे । 

इतिहाद रंगशालामा हारे पनि पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । सिटी १२ अंकसहित समूह विजेता बन्दा पीएसजी उप–विजेता बन्यो । पीएसजीको खातामा आठ अंक छ । समूह चरणको अन्तिम खेलमा पीएसजी अब क्लब ब्रगसँग भिड्नेछ । यो खेल जिते पनि पीएसजीले शीर्षस्थानमाथि कब्जा जमाउन भने सक्ने छैन । 


लियोनल मेस्सी, नेयमार र एम्बाप्पेसहितको अग्रपंक्ति खेलाए पनि सिटीलाई हराउन नसकेपछि पीएसजीको आलोचना भइरहेको छ । यस्तो आलोचनाको जवाफ दिने प्रयास गरेका छन्, पीएसजीका रक्षक प्रेसनेल किम्पेम्बेले । एउटा हारले पीएसजीको क्षमतामाथि प्रशन उठ्न नहुने उनको भनाइ थियो । ‘हाम्रो मुख्य उदेश्य नकआउट चरणमा पुग्नु थियो । यसमा हामी सफल भएका छौँ । हो, सिटीसँगको हारले हामी दुःखी छौँ । तर हामीसँग योभन्दा राम्रो खेल्ने क्षमता छ,’ किम्पेम्बेले भनेका छन् । 

उता पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले पहिलो हाफमा सिटी र दोस्रो हाफमा आफ्नो टिमको प्रदर्शन मजबुत देखिएको प्रतिक्रिया दिए । ‘हामीले यो खेल हारे पनि दोस्रो हाफको प्रदर्शनलाई सम्झिनेछौँ । त्यसबेला हामीले राम्रो खेल देखाएको हो । बराबरी गोल खाएपछि भने हामीले टिममा परिवर्तन गर्नु प¥यो । तर त्यसपछि हामीले गोल खायौँ । जे होस् अन्तिम १६ मा पुगियो । यसमा हामी खुशी छौँ,’ पोचेटिनोले भने । 


Author

थप समाचार
x