रेफ्रिजेरेटर डेलिभरी गर्ने मेसिएस बने एसी मिलानको हिरो
काठमाडौँ- च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने एसी मिलानको लक्ष्य पूरा भइसकेको छैन । न त उसको सम्भावना नै सकिसकेको छ । समूह ‘बी’ मा रहेको मिलानको पाँच खेलबाट चार अंक छ । चौथो स्थानमा रहेको एट्लेटिको मड्रिडको पनि चार अंक नै छ । मिलान गोल भिन्नतामा एट्लेटिकोभन्दा अघि छ ।
बुधबार रातिको खेलमा मिलानले एट्लेटिकोलाई १–० ले पन्छायो । जारी च्याम्पियन्स लिगमा मिलानको यो पहिलो जित हो । यही जितले च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल पुग्ने मिलानको सपना जीवित बनेको हो । यो महत्वपूर्ण जितमा मिलानका लागि गोल गर्ने खेलाडी थिए, जुनियर मेसिएस ।
मेसिएस मिलानको जर्सीमा पहिलो पटक गोल गरेका हुन् । यसै सिजन मिलान पुगेका मेसिएसले सिरी ‘ए’ मा मिलानका लागि जम्मा दुई खेल खेलेका छन् । एट्लेटिकोविरुद्धको खेल उनका लागि पहिलो च्याम्पियन्स लिग अनुभव थियो । ६५ औँ मिनेटमा मैदान छिरेका उनले ८७ औँ मिनेटमा गोल गरे ।
मेसिएस नाम चलेका खेलाडी होइनन् । तर एउटै गोलले ३० वर्षीय स्ट्राइकरलाई रातारात लोकप्रिय बनाएको छ । उनले गत सिजन मात्रै इटालियन फुटबलको शीर्ष श्रेणीमा डेब्यु गरेका हुन् । त्यसभन्दा अघि उनी दोस्रो श्रेणीमा थिए । सन् २०१७–१८ सिजनसम्म उनी चौथो श्रेणीको सिरी ‘डी’ खेलिरहेका थिए ।
केही वर्षअघिसम्म त उनी रेफ्रिजेरेटर पसलमा काम गर्थे । त्यहाँ उनको जिम्मेवारी थियो, ग्राहकको घरसम्म रेफ्रिजेरेटर पुर्याउने । फुटबल खेल्न नछाडेको उनी एमेच्योर लिगबाट सिरी ‘ए’ सम्म पुगे । अनि पनि मिलान जस्तो प्रतिष्ठित क्लबमा आबद्ध भए ।
‘म आफ्नो प्रदर्शनका कारण खुशी छु । अन्तिम १६ मा पुग्ने मिलानको सपना जीवितै छ । यद्यपि हामीले अझै मेहेनत गर्नुपर्ने छ । यो गोल मेरो करियरकै महत्वपूर्ण गोल हो,’ खेलपछि मेसिएसले भने ।
ब्राजिलकै क्लब कु्रजेरोको उत्पादन मेसिएस सन् २०११ मा इटाली पुगेका थिए । कामको खोजी गर्दै इटाली पुगेका मेसिएसले त्यहाँ विभिन्न किसिमका काम गरे । टुरिन सहरको स्थानीय स्टोरमा काम गर्दागर्दै उनको भेट अर्को दक्षिण अमेरिकी देश पेरुका नागरिकसँग भयो । उनीहरुले मिलेर एउटा टिमको स्थापना गरे ।
एमेच्योर फुटबल खेल्दै जाँदा उनलाई पाँचौँ श्रेणीको कासालेबाट प्रस्ताव आयो । तर दैनिक कामसँग कासेलको तालिका जुध्दा उनले पाँचौँ श्रेणीमा खेल्ने मौका गुमाए । मेसिएसलाई त्यस्तो प्रस्ताव राख्ने एजियो रोसीले हार मानेनन् । उनै रोसीको सहयोगमा उनले चौथो श्रेणीको लिग खेलिरहे । यसो हुँदाहुँदै मेसिएस क्रोटोनसँग आबद्ध भए । क्रोटोन सन् २०१९–२० सिजनमा सिरी बी मा थियो । अर्को सिजन क्रोटोन अन्ततः सिरी ए मा बढुवा भयो ।
मेसिएसले पनि सिरी ‘ए’ को अनुभव लिन पाए । मेसिएसले सिरी ए मा ३६ खेल खेल्दै नौ गोल गरे । क्रोटोन सिरी बी मा रेलिगेट भयो तर मेसिएसको मेहेनत भने खेर गएन । उनलाई मिलानले अनुबन्ध गर्यो । मिलानले मेसिएसलाई एक वर्षका लागि ऋणमा अनुबन्ध गरेको हो । तर जारी सिजनको अन्त्यमा मिलानले यी ब्राजिलियन खेलाडीलाई स्थायी रुपमै अनुबन्ध गर्नसक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया