फुटबल

युरोपा लिगः कुन टिम पुगे अन्तिम १६ मा?

इकागज |
मंसिर १०, २०७८ शुक्रबार ११:३७ बजे

काठमाडौँ- यसपालिको युरोपा लिगको स्वरुप केही हदसम्म परिवर्तित छ । विगतका संस्करणमा ४८ टिमले समूह चरणमा प्रतिस्पर्धा गर्थे । तर यसपटक ३२ टिम मात्रै समूह चरणमा छन् । यी टिम आठ समूहमा विभाजित छन् । प्रत्येक समूह विजेता सिधै अन्तिम १६ मा पुग्छन् । जबकि विगतमा अन्तिम ३२ मा पनि खेलहरू हुन्थे । 

यो पटक भने प्रिक्‍वार्टरफाइनलका बाँकी आठ स्थानका लागि प्लेअफ खेल हुनेछन् । च्याम्पियन्स लिग समूह चरण दौरान प्रत्येक समूहमा तेस्रो भएका आठ टिम र युरोपा समूह चरण दौरान दोस्रो भएका टिम आमनेसामने हुनेछन् । प्लेअफमा विजयी बन्‍ने टिमले पहिल्यै अन्तिम १६ मा स्थान बनाइसकेका टिमसँग प्रतिस्पर्धा गर्नेछन् । 


युरोपा लिगको समूह चरणका खेलहरू सकिएका छैनन् । बिहीबार राति पाँचौँ खेलहरू भए । यी खेलहरूका नतिजाबाट लियोन, बायर्न लेभरकुजन, मोनाको र वेस्टह्यामले समूह विजेताको हैसियतले युरोपा अन्तिम १६ मा स्थान पक्का बनाएका छन् । 

यसैगरी फ्रान्कफर्ट, गालाटासारे, लाजियो र ओलम्पियाकोसले प्लेअफमा स्थान सुरक्षित गरेका छन् । यी टिमसँग सिधै अन्तिम १६ पुग्ने सम्भावना भने कायमै छ । किनभने यी टिम अन्तिम दिनका खेल जित्दै समूह विजेता बन्‍न सक्छन् । उता रियल बेटिस र रेन्जर्स भने आ–आफ्ना समूहमा दोस्रो हुँदै युरोपाको प्लेअफमा पुगेका छन् । 

अन्तिम १६ मा पुगेका टिमः 
बायर्न लेभरकुजन (जर्मनी) 
लियोन (फ्रान्स) 
मोनाको (फ्रान्स) 
वेस्टह्याम (इंग्ल्यान्ड) 
 

प्लेअफमा पुगेका टिमः 
रियल बेटिस (स्पेन) 
रेन्जर्स (स्कटल्यान्ड)

अन्तिम १६ मा पुग्ने सम्भावना भएका टिमः 
फ्रान्कफर्ट (जर्मनी) 
गालाटासारे (टर्की) 
लाजियो (इटाली) 
ओलम्पियाकोस (ग्रीस) 
  

 
 


Author

थप समाचार
x