फुटबल

सहिद स्मारक ‘ए’ डिभिजन लिग

हेभिवेट थ्रीस्टारलाई सातदोबाटोको पाठ

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १६:३ बजे

काठमाडौँ- काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरण सुरु हुने पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा सातदाबाटो युथ क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टिमको फिनिसिङमा सुधार हुनुपर्ने बताएका थिए । शुक्रबार भएको थ्रीस्टारविरुद्धको खेलपछि भने उनी हर्षित देखिए । किनभने उनी नेतृत्वको नवप्रवेशी सातदोबाटोले हेभिवेट थ्रीस्टारलाई १–० ले स्तब्ध बनाएको थियो । 

‘लिगमा नयाँ टिम भएपनि हामीले आज थ्रीस्टार जस्तो बलियो टिमलाई पराजित गर्न सफल भयौँ । हामीले थ्रीस्टारविरुद्ध आक्रामण गरिरह्यौँ । बरु उनीहरुले जम्मा एउटा लामो दूरीको प्रहार गरे । यसकारण म आफ्ना खेलाडीहरूको प्रदर्शनबाट सन्तुष्ट छु,’ कुनैबेला थ्रीस्टारका मुख्य प्रशिक्षक रहेका मेघराजले भने । 


खेलको एक मात्र गोल सुदीप गुरुङले गरे । उनले २९ औँ मिनेटमा गोल गरेका थिए । पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको सातदोबाटोका लागि लिगमा यो पहिलो गोल हो ।  

गोलको मुभ लेफ्ट ब्याक पासाङ लामाको थ्रोइनबाट सुरु भएको थियो । उनको थ्रोइनबाट प्राप्त बललाई नियन्त्रणमा लिँदै शुसिल राईले १८ यार्ड बक्सभित्र रहेका फरवार्ड मार्टिन्स कायोडे अजायीलाई पास दिएका थिए । नाइजेरियाका अजायीले बक्सतर्फ दौडिँदै आएका सुदिप गुरुङलाई पास दिए जसलाई सदुपयोग गर्दै सुदिपले सुन्दर गोल गरे । 

जितपछि आफ्नो अंक तालिकाको शीर्षस्थानमा पुगे पनि अहिले नै त्यतर्फ हेर्ने बेला भइनसकेको पनि मेघराजको भनाइ थियो । 

उता पराजयपछि बोल्दै थ्रीस्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नो टिमले बल होल्ड गर्न नसकेको बताए । मिडफिल्डर हेमन्त थापा मगरको स्वास्थ्यमा समस्या आएपछि खेल्न नसकेको, मिसपास खेलेको र आक्रामण बुन्न नसकेको पनि उर्जनको भनाइ थियो । 
 


Author

थप समाचार
x