लगातार दुई खेल हारेपछि एपीएफका कुमार भन्छन्, १२ अंक गुमाएझैँ भयो
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगका पछिल्ला दुई सिजन एपीएफ फुटबल क्लब शीर्ष पाँच भित्र परेको थियो । यसपालि भने एपीएफको सुरुवात सन्तोषजनक हुन सकेको छैन । विभागीय टिमले खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा बिग्रेड ब्याइजसँग ३–२ ले निराश बनेको एपीएफले शनिबार पनि हार बेहार्यो । उसलाई च्यासल युथ क्लबले १–० ले पराजित गर्यो ।
लगातार ६ अंक गुमाएपछि एपीएफले जारी लिगमा आफ्नो पूर्वस्थान जोगाउन अत्यन्तै संर्घष गर्नुपर्ने देखिएको छ । यद्यपि टिमका मुख्य प्रशिक्षक कुमार थापाले आफ्नो टिमले दबाब महशुस गर्ने भन्दा पनि विपक्षीलाई दबाब दिएर खेल्ने प्रयास गरिरहेको प्रतिक्रिया दिएका छन् । ‘अन्तिममा चार फरवार्ड खेलाउँदा पनि गोल भएन । हामीले सकेसम्म दबाब सिर्जना गर्यौँ । लगातार दुई खेल्दा ६ अंक होइन, १२ अंक गुमाएको जस्तो भएको छ,’ च्यासलसँगको हारपछि कुमारले भने ।
दोस्रो खेलमा रक्षापंक्तिले सुधारिएको प्रदर्शन गरे पनि मिडफिल्ड अझैँ पनि सेट नभइसकेको कुमारको भनाइ थियो । ‘आजको खेलमा सुधार देखिएको हो । तर आफ्नै स्तरको टिमसँग हारियो । पहिलो खेलमा पनि समानस्तरको विपक्षीसँग हारेका थियौँ । च्यासलले तीन पटक प्रहार गर्दा एक गोल गर्यो । तर हामीले गरेका कुनै पनि प्रहार गोलमा परिणत भएनन्,’ कुमारले भने ।
उता च्यासलका मूख्य प्रशिक्षक बालगोपाल साहुखलले आफ्नो टिम विस्तारै सेट भइरहेको प्रतिक्रिया दिए । टिममा युवा खेलाडीहरूको संख्या धेरै भएकाले टिम सेट हुन केही समय लाग्ने उनको भनाइ थियो । यद्यपि उनीहरूले आक्रामक फुटबल खेलेको र रक्षापंक्तिमा सुधार गरेकोमा बालगोपाल सन्तुष्ट देखिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया