फुटबल

मनाङको अघि हिमालयन शेर्पाको केही सिप चलेन

इकागज |
मंसिर ११, २०७८ शनिबार १९:६ बजे

काठमाडौँ- काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले शनिबार हिमालयन शेर्पा क्लबमाथि १–० को संर्घषपूर्ण जित दर्ता गरेको छ । खेलको उतर्राद्धमा नाइजेरियन स्ट्राइकर अफिज ओलावाले ओलाडिपोले गोल गरेपछि मनाङले महत्वपूर्ण तीन अंक बटुल्न सक्यो । 

दशरथ रंगशालामा लगातार दोस्रो जित निकालेपछि मनाङ पहिलो स्थान उक्लेको छ । मनाङले आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो । उता हिमालयन शेर्पाका लागि भने यो पहिलो हार हो । पहिलो चरणको खेलमा हिमालयन शेर्पाले संकटा युथ क्लबसँग १–१ को बराबरी खेलेको थियो । दुई खेलबाट एक अंक बटुलेको हिमालयन शेर्पा ११ औँ स्थानमा छ । 


खेलको ८४ औँ मिनेटमा मनाङले कर्नरको अवसर पाएको थियो । मिडफिल्डर पुजन उपरकोटीले प्रहार गरेको कर्नरबाट आएको बललाई निशान लिम्बुले फ्लिक गरे र त्यो बललाई ओलोवाले हेडर गोलमा परिणत गरे । योसँगै ओलावालेले जारी लिगमा गोलको खाता खोलेका छन् । संयोगवश ओलावाले र हिमालयन शेर्पाका मुख्य प्रशिक्षक युगल किशोर राई नेपाल सुपर लिग दाैरान एउटै क्लबमा थिए । 


Author

थप समाचार
x