दोस्रो चरणमा कम गोल, थ्री स्टार स्तब्ध हुँदा आर्मीलाई धक्का
काठमाडौँ - साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित चार हजार दर्शकले खल्लो महसुस गरे ।
समग्रमा दोस्रो चरण मच्छिन्द्र र आर्मीको खेलजस्तै रह्यो । पाँच खेलमा हार जित हुँदा दुई खेल बराबरीमा सकिएको थियो । यस चरणमा भने कुनै पनि टोलीले ठुलो अन्तरको जित निकाल्न सकेनन् । संकटा क्लब र फ्रेण्ड्स क्लबबीचको खेलमा तीन गोल हुनु नै सबैभन्दा बढी गोल रह्यो ।
पहिलो चरणमा १६ गोल निस्कदा दोस्रो चरणमा भने जम्मा सात गोल भएको छ। पहिलोे चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टारलाई १–० ले स्तब्ध बनायो । अघिल्लो खेलमा च्यासलविरुद्ध ३–० को जित निकालेको थ्री स्टार नवप्रवेशी सातदोबाटोसँग भने निरीह रह्यो ।
दोस्रो खेलमा संकटा क्लब एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जित निकाल्यो । फ्रेण्ड्सको यो पहिलो हार हो । यता, संकटाको भने पहिलो जित हो ।
दोस्रो चरणको दोस्रो दिनको खेलमा च्यासलले विभागीय प्रतिद्वन्द्धी एपीएफ फुटबल क्लबलाई १–० अन्तरले पराजित गर्यो । त्यसै दिन भएको दोस्रो खेलमा विदेशी खेलाडी आफिज ओलावालेको निर्णायक गोलमा मनाङ मर्सस्याङ्दी क्लबले आफ्नो लगातार दोस्रो जितलाई निरन्तरता दियो ।
तेस्रो दिन भएको एक मात्रै खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै पुलिसले पहिलो जित निकाल्यो । वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा पुलिसले अपराजित यात्रा कायम राख्यो ।
दोस्रो चरणको अन्तिम दिन उपाधिमा दावेदारी प्रस्तुत गरेको न्युरोड टिम (एनआरटी) ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग गोलरहित बराबरीमा रोकियो । यो बराबरीसँगै एनआरटीलाई उपाधि दावेदारीमा धक्का लागेको छ ।
अन्तिम दिनको अन्तिम खेलमा भने आर्मी र मच्छिन्द्रले बराबरी खेल्दै अंक बाढे । यस नतिजासँगै मनाङलाई प्रत्यक्ष फाइदा भएको छ । मनाङले दोस्रो चरणमा दुई अंकको अग्रता बनाएको हो ।
दोस्रो चरणको समाप्तीमा मनाङको दुई खेलबाट दुई गोलसहित ६ अंक भएको छ । समान चार अंक जोडेका संकटा, बीबीसी, मच्छिन्द्र, पुलिस, सातदोबाटो क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । समान तीन अंक जोडेका थ्री स्टार र च्यासल सातौँ र आठौँ स्थानमा रहँदा दुई अंक जोडेको आर्मी नवौँ स्थानमा छ ।
समान एक अंक जोडेका हिमालयन शेर्पा, फ्रेण्डस् र एनआरटी क्रमशः दशौँ, एघारौँ र १२औँ स्थानमा छन् । यता, कुनै अंक जोड्न नसकेका जावलाखेल र एपीएफ रेलिगेसन जोनमा छन् । तेस्रो चरणका खेल शुक्रबारबाट सुरु हुने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया