फुटबल

नेपोलीमाथि दबाब सिर्जना गर्दै मिलानका दुई क्लब

इकागज |
मंसिर १६, २०७८ बिहीबार १६:२७ बजे

काठमाडौँ- इटालियन सिरी ‘ए’ मा गत सिजन इन्टर मिलान च्याम्पियन बन्दा एसी मिलान दोस्रो भएको थियो । तेस्रो र चौथो स्थान क्रमशः एटलान्टा र युभेन्टसले ओगटेका थिए । नेपोली भने पाँचौँ स्थानमा रहेको थियो । यसपालिको सिरी 'ए' मा पनि मिलानका दुई क्लब बलियो देखिएका छन् । तर अंक तालिकामा यी दुई क्लबभन्दा अगाडि नेपोली छ । 

लुसियानो स्पालेट्टी नेतृत्वको नेपोलीको १५ खेलबाट ३६ अंक छ । नेपोलीलाई पछ्याइरहेको मिलानको ३५ अंक छ भने इन्टरको खातामा ३४ अंक छ । इन्टरको भन्दा तीन अंक कम बटुलेको एटलान्टा चौथो स्थानमा छ । 


नेपोली तथा दुई मिलान क्लबबीचको दूरी घट्न बुधबार रातिका खेलहरूको भूमिका महत्वपूर्ण रह्यो । नेपोली बराबरीमा रोकिँदा दुई मिलान क्लबले भने जित हासिल गरे । इन्टरले स्पेजियालाई २–० हरायो भने मिलानले जेनोआमाथि ३–० को जित हासिल गर्‍यो । उता नेपोलीलाई भने सासुओलोले २–२ को बराबरीमा रोक्यो । 

६० मिनेटभित्र दुई गोल गरेको नेपोलीले पछिल्लो २० मिनेटभित्र दुई गोल खाएको थियो । नेपोलीका लागि फाबियान रुइज र ड्राइस मर्टेन्सले एक–एक गोल गरेका थिए । सासुओलोका तर्फबाट जियानलुका स्कामाक्का र जियान मार्को फेरारीले गोल गरे । फेरारीले ८९ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । 

बराबरीका बाबजुत पनि शीर्षस्थानमा रहेको नेपोली दबाबमा भने परेको छ । यसको एउटा कारण घाइते खेलाडीको संख्या बढ्नु हो । स्ट्राइकर भिक्टर ओसिमेन र आन्द्रे फ्रान्क जाम्बोलाई यसअघि नै गुमाइसकेको नेपोलीले रुइज र कालिडौ कौलिबेलीलाई पनि गुमाएको छ । 

मिलानले जेनोआलाई हराउँदा जुयिर मेसिअसले दुई गोल गरे । च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध निर्णायक गोल गरेपछि चर्चा पाएका मेसिअसले मिलानको जर्सीमा बलियो लय कायम राखेका छन् । उनीबाहेक ज्लाटन इब्राहिमोभिचले पनि जेनोआविरुद्ध गोल गरे । 

सबै प्रकारका प्रतियोगितामा गरी १० खेलमा अपराजित रहेको इन्टरको जितमा रोबर्टो गाग्लियार्डनीले एक–एक गोल गरे । गत अक्टोबर १६ मा लाजियोसँग पराजय बेहोरेयता इन्टरले कुनै पनि खेल हारेको छैन ।  
 


Author

थप समाचार
x