मेरो भविष्यबारे निर्णय लिने स्थानमा लिभरपुल छ: मोहम्मद सलाह
काठमाडौँ- मोहम्मद सलाह निर्विवाद रुपमा लिभरपुलका सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् । यति मात्र होइन, वर्तमान लयका आधारमा उनी विश्वका सर्वोत्कृष्ट फुटबलर हुन् भनेर दाबी गर्नेको संख्या पनि कम छैन । हुन त उनको प्रदर्शन पनि विश्वस्तरीय नै रहँदै आएको छ । यस सिजन मात्रै पनि उनले लिभरपुलका लागि २० खेलमा १९ गोल गरिसकेका छन् ।
जारी सिजनमा उनको प्रदर्शनलाई लिएर लिभरपुल समर्थक अत्यन्तै उत्साहित छन् । तर सँगसँगै एउटा डर पनि छ । त्यो भनेको उनले लिभरपुलसँग सम्झौता नवीकरण नगर्लान् कि भन्ने हो । इजिप्टका सलाहको लिभरपुलसँगको सम्झौता सन् २०२३ मा सकिँदैछ । उनी र लिभरपुलबीच यसबेलासम्म नयाँ सम्झौताका लागि सहमति भइसक्नु पर्ने हो । तर दुई पक्षबीचको छलफलले नतिजा दिन सकेको छैन ।
यसैबीच सलाह बार्सिलोना जानसक्ने समाचारहरू आइरहेका छन् । स्पेनका अखबारहरूका अनुसार बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेज सलाहलाई अनुबन्ध गर्न चाहन्छन् । यही खबरको सेरोफेरोमा रहेर सलाहलाई सोधिएको छ, लिभरपुलसँगको भविष्यबारे ।
‘जाभीले मलाई अनुबन्ध गर्न चाहेको खबर मैले पढेँ । बार्सिलोना जस्तो ठूलो क्लबले मलाई अनुबन्ध गर्न चाहेको खबर सुन्दा अवश्य पनि खुशी लाग्छ । तर म लिभरपुलमा खुशी छु । म लिभरपुलमै रहन चाहन्छु,’ सलाहले इजिप्टको टेलिभिजन च्यानल एमबीसीसँग भनेका छन् ।
इंग्लिस प्रिमियर लिग विश्वकै सबैभन्दा बलियो लिग भएको बताउँदै लिभरपुलमा रहने इच्छा व्यक्त गरेका सलाहले लिभरपुलसँगको भविष्यबारे आफूले अहिल्यै केही भन्न नसक्ने बताए । ‘म लिभरपुलमा रहन चाहन्छु भनेर मैले कयौँ पटक भनेको छु । तर मैले यस्तो सोचेर हँुदैन, लिभरपुलले पनि यही सोच्नु पर्छ । के गर्ने भनेर निर्णय लिने स्थानमा लिभरपुल छ,’ सलाहले भनेका छन् ।
सलाहले लिभरपुलसँग तलब वृद्धिको माग गरिरहेको बताइएको छ । माग बमोजिमको तलब लिभरपुलले उपलब्ध गराए सलाह प्रिमियर लिगमै सर्वाधिक कमाइ गर्ने खेलाडीमध्येको एक हुने बताइएको छ । तर सलाहले भने तलबले मात्रै आफ्नो भविष्यको निक्र्योल नगर्ने बताए । ‘मैले लिने निर्णय तलबमा मात्रे निर्भर रहने छैन । बरु क्लबको दिर्घकालिन योजना, प्रशिक्षकको योजना लगायतका कुरा पनि महत्वपूर्ण छ,’ सलाहको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया