फुटबल

युईएफए च्याम्पियन्स लिग

अप्ठ्यारोमा बार्सिलोना, युभेन्टस र चेल्सीकाे नजर शीर्षस्थानतर्फ

इकागज |
मंसिर २२, २०७८ बुधबार १३:१२ बजे

काठमाडौँ- युईएफए च्याम्पियन्स लिगका समूह चरणका अन्तिम खेलहरू बुधबार राति हुँदैछन् । ती खेलमध्ये सबैभन्दा महत्वका साथ बायर्न म्युनिख र बार्सिलोनाबीचको भिडन्तलाई हेरिँदैछ । किनभने च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्‍न बार्सिलोनालाई अनिवार्य जित चाहिएको छ । आलियान्ज ऐरेनामा बार्सिलोनालाई स्वागत गर्न लागेको बार्यन भने पहिल्यै अन्तिम १६ मा पुगिसकेको छ । 

समूह 'ई' मा रहेको बार्सिलोनाको पाँच खेलबाट सात अंक छ । शीर्षस्थानमा रहेको बार्यनको भने १५ अंक छ । यसैगरी तेस्रो स्थानमा रहेको बेनफिकाको खातामा पाँच अंक छ । बार्सिलोना र बेनफिकाबीचको दूरी दुई अंकको छ । यस्तोमा बायर्नमाथिको जितले मात्रै बार्सिलोनालाई च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा पुर्‍यानेछ । बायर्नसँग हार बेहोरे र बेनफिकाले आफ्नो अन्तिम खेल जितेमा बार्सिलोना १८ सिजनयता पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्‍न असफल रहनेछ । 


समूह ‘एफ’ बाट म्यानचेस्टर युनाइटेडले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ । पाँच खेलबाट १० अंक बनाएको युनाइटेडको अबको विपक्षी हो, योङ ब्योइज । समूहको पुच्छारमा रहेको योङ ब्योइजको अन्तिम १६ को समीकरणबाट बाहिरिसकेको छ । यसो हुँदा युनाइटेडलाई पछ्याउँदै अन्तिम १६ मा पुग्ने प्रतिस्पर्धामा स्पेनको भिल्लारियल र इटालीको एटलान्टा छन् । यी दुई टिम बुधबार राति आमनेसमाने हुँदैछन् । यो खेलबाट एक अंकमात्रै बटुले पनि भिल्लारियल प्रिक्वार्टरफाइनलमा पुग्नेछ । उता एटलान्टाका लागि भने जित चाहिएको छ । 

समूह ‘जी’ मा चार टिमबीच एक–एक अंकको फरक छ । शीर्षस्थानमा रहेको लिलको पाँच खेलबाट आठ अंक छ भने साल्जबर्ग, सेभिया र उल्फ्सबर्गको क्रमशः सात, छ र पाँच अंक छ । समूहको पहिलो स्थानमा रहेको लिलले आफ्नो अन्तिम खेलमा उल्फ्सबर्गसँग प्रतिस्पर्धा गर्दैछ । उता दोस्रो स्थानको साल्जबर्गले सेभियासँग आफ्नै मैदानमा खेल्दैछ । 

समूह ‘एच’मा चेल्सी र युभेन्टसको १२–१२ अंक छ । यी दुवै टिमले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् । तर शीर्षस्थानका लागि प्रतिस्पर्धा भने सकिएको छैन । हालका लागि गोलअन्तरमा अगाडि रहेको चेल्सी पहिलो स्थानमा छ । बुधबार राति हुने खेलमा चेल्सीले रुसी विपक्षी जेनिट सेन्ट पिटर्सबर्गको सामना गर्दैछ भने युभेन्टसको भेट स्विडेनको माल्मोसँग हुनेछ ।      


Author

थप समाचार
x