च्याम्पियन्स लिगमा हालान्डको बलियो लय कायमै
काठमाडौँ- बेरुसिया डर्टमन्डले जितसहित यसपालिको च्याम्पियन्स लिगबाट बिदा लिएको छ । मंगलबार सिंग्नल इडुना पार्कमा भएको खेलमा डर्टमन्डले टर्कीको बेसिकटासलाई ५–० ले पराजित गरेको हो । समूह ‘सी’को शीर्ष दुईमा नरहने यसअघि निश्चित भएकाले डर्टमन्डका लागि यो खेलको नतिजाको महत्व थिएन ।
यद्यपि डर्टमन्डले घरेलु मैदानमा बलियो टिम उतारेको थियो । कप्तान मार्को रुइस, डोनयल मालेन र मारियस उल्फ सम्मिलित फरवार्ड लाईनलाई एक्सेल विट्सेल, मोहम्मद दाउद र ज्युड बेलिंगहमको साथ थियो । एर्लिङ हालान्डलाई भने बेन्चमा राखिएको थियो ।
खेलमा पहिलो गोल गर्न करिब आधा घण्टा लगाएको डर्टमन्ड पहिलो हाफ सकिँदा २–० ले अघि रह्यो । जर्मन टिमका लागि पहिलो गोल मालेनले गरे भने दोस्रो गोल कप्तान रुइसको नाममा रह्यो । ५३ औँ मिनेटमा रुइसले व्यक्तिगत दोस्रो गोल गरे । डर्टमन्ड ३–० को स्थितिमा रहेकै बेला ६३ औँ मिनेटमा हालान्ड मैदान प्रवेश गरे ।
रुइसको स्थानमा मैदान छिरेका हालान्डले पाँच मिनेटपछि नै गोल गरे । उनी यतिमै रोकिएनन् । उनले ८१ औँ मिनेटमा दोस्रो गोल गरे । यससँगै २१ वर्षीय हालान्डको च्याम्पियन्स लिग गोल संख्या २३ पुगेको छ । च्याम्पियन्स लिगमा उनले अहिलेसम्म १९ खेल मात्रै खेलेका छन् ।
समूह ‘सी’बाट आयाक्स र स्पोर्टिङ लिस्बनले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्क गर्दा डर्टमन्ड युरोपा लिगमा घटुवा भएको छ । युरोपको नकआउट चरणमा पुग्न डर्टमन्डले प्लेअफ खेल्नु पर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया