बार्सिलोनामा शून्यबाट सुरु गर्नुछः जाभी
काठमाडौँ- स्पेनिस ला लिगाको २००२–०३ सिजनमा बार्सिलोना शीर्ष चारभित्र अटेन । यसकारण क्याट्लन क्लबले २००३–०४ सिजनको च्याम्पियन्स लिगमा भाग लिन पाएन । तर त्यसयता भने प्रत्येक सिजनको च्याम्पियन्स लिगमा बार्सिलोनाको उपस्थिती रहँदै आएको थियो । अझ भन्दा बार्सिलोना पछिल्लो १७ वर्षमा खेलिएका प्रत्येक च्याम्पियन्स लिगका नकआउट चरणमा पुगेको थियो । तर उसको यस्तो सफलतामा यो पटक ब्रेक लागेको छ ।
बुधबार राति समूह ‘ई’को खेलमा बार्यन म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गर्न सकेन । आलियान्ज ऐरेनामा भएको खेलमा बार्सिलोनाका रक्षकहरूले थोमस मुलर, लेरो साने र जमाल मुसिअलालाई गोल गर्नबाट रोक्न सकेनन् ।
पाँच पटक च्याम्पियन्स लिग जितेका बार्सिलोना दोस्रो श्रेणीको युरोपा लिगमा झरेपछि प्रशिक्षक जाभी हर्नान्डेजको सुरुवाती प्रतिक्रिया थियो, ‘युरोपा लिग बार्सिलोनाको वास्तविकता हो ।’ च्याम्पियन्स लिग खेल्ने र जित्ने आफूहरूको उदेश्य भएको र यो उदेश्य पूरा नभएपछि अब युरोपा लिग जित्नुबाहेक अर्को विकल्प नभएको जाभीको भनाइ थियो ।
‘च्याम्पियन्स लिगको नकआउटमा पुग्न नसक्दा म एकदमै आक्रोशित छु । हाम्रो अहिलेको स्थिति जे छ, यसबाट म खुशी छैन । अब हामीले शून्यबाट सुरु गर्नु पर्नेछ । र, च्याम्पियन्स लिगमा फर्कनु पर्नेछ,’ जाभीले भनेका छन् ।
बायर्नसँगको हार जाभीका लागि बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएपछिको दोस्रो हार हो । चार साता पहिले प्रशिक्षकमा नियुक्त भएका ४१ वर्षीय जाभीले गत शनिबार ला लिगामा रियल बेटिसविरुद्ध हार बेहोरेका थिए ।
‘बार्सिलोनालाई सही ठाउँमा ल्याउन हामीले धेरै मेहेनत गर्न आवश्यक छ । गल्तीहरूलाई सच्याउन आवश्यक छ । अबको लक्ष्य भनेको युरोपा जित्ने र ला लिगामा अधिकतम अंक बटुल्न प्रयास गर्ने हो,’ जाभीले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया