सहिद स्मारक ‘ए’ डिभिजन लिग
प्रतिस्पर्धा एएफसी कप छनौटका लागि
काठमाडौँ- एसियाली क्लब फुटबलमा दोस्रो श्रेणीको प्रतियोगिता एएफसी कपको छनौटमा नेपालको प्रतिनिधित्व सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेताले गर्छ । तर यसपालिको एएफसी कपको छनौट सुरु हुँदा नेपालको घरेलु लिग नसकिने हुँदा लिग च्याम्पियनले छनौट खेल्न भ्याउने छैन । यसै कारण सातौँ चरण सकिँदा जुन टिम शीर्ष स्थानमा हुन्छ, त्यही टिमले एएफसी कपको छनौट खेल्नेछ ।
तर यसमा पनि शर्त छ, एएफसी क्लब लाइसेन्स भएको क्लबले मात्र छनौट खेल्न पाउनेछ । जारी लिगमा सहभागी १४ टिममध्ये चारसँग मात्रै एएफसी लाइसेन्स छ । ती टिम हुन् च्याम्पियन मछिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ फुटबल क्लब । यी टिममध्ये मछिन्द्र, मनाङ र आर्मी उपाधि दौडमा छन् । अनि उनीहरू नै एएफसी कप छनौट खेल्नका लागि प्रतिस्पर्धामा छन् ।
दशरथ रंगशालामा जारी लिगको चौथो चरणका खेलहरू शुक्रबारबाट सुरु भए । दिनको पहिलो खेलमा मनाङले फ्रेन्ड्सलाई २–० ले पराजित गर्यो । मनाङलाई सजिलाे जित दिलाउन अफिज ओलावाले र दिनेश राजवंशीले गोल गरे । यो जितसँगै मनाङ शीर्ष स्थानमा उक्लिएको छ । मनाङले चार खेलबाट सात अंक बटुलेको छ । लिगमा तेस्राे जितका कारण मनाङले एएफसी कप छनाैट खेल्ने सम्भावना बलियाे बनाएकाे छ । उति नै अंक भएका सातदोबाटो युथ क्लब र मछिन्द्र क्लब दोस्रो तथा तेस्रो स्थानमा छन् ।
दिनको दोस्रो खेलमा आर्मी च्यासल युथ क्लबसँग भिडिरहेको छ । पहिलो हाफमा आर्मी २–० ले अगाडि छ । यो खेल जितेमा आर्मी दोस्रो स्थानमा उक्लनेछ । जसले गर्दा उपाधि दौड थप पेचिलो हुनेछ । र सँगै एफसी कप छनौट खेल्नका लागि भइरहेको प्रतिस्पर्धा पनि थप कडा बन्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया