फुटबल

नतिजाका कारण लिभरपुलका समर्थक रिसाए फरक पर्दैनः जेरार्ड

इकागज |
मंसिर २४, २०७८ शुक्रबार २०:११ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबार लिभरपुलले एस्टन भिल्लाको सामना गर्दैछ । यो खेल लिभरपुल सर्मथकका लागि विशेष हुनेछ । यसको कारण स्टिभन जेरार्ड हुन् । लिभरपुल समर्थकमाझ अत्यन्तै लोकप्रिय रहेका जेरार्ड हाल भिल्लाका प्रशिक्षक हुन् । 

डिन स्मिथ बर्खास्त भएपछि जेरार्ड भिल्लाको प्रशिक्षक बनेका हुन् । उनको नेतृत्वमा भिल्लाले लिगका चार खेल खेलेको छ । यी खेलमध्ये तीन खेलमा भिल्लाले जित हासिल गरेको छ । भिल्ला समर्थक जेरार्डबाट प्रशन्न छन् । किनभने जेरार्डको प्रशिक्षणमा भिल्लाले अंक तालिकामा फड्को मारेको छ । 


भिल्लामा जेरार्डले सुरुवाती सफलता हासिल गरेकोमा लिभरपुल समर्थक पनि दंग छन् । किनभने प्रशिक्षकका रुपमा जेरार्डले आफूलाई सिद्ध गरे उनको लिभरपुलतर्फको स्थान्तरण सहज हुनेछ । कमसेकम लिभरपुल समर्थक यही सोच्छन् । तर जेरार्ड भने लिभरपुलको प्रशिक्षक हुनेतर्फ ध्यान नदिई हाल भिल्लाकै जिम्मेवारीमा केन्द्रित रहेको दाबी गरिरहेका छन् । 

भिल्लाको जिम्मेवारी लिएपछि जेरार्डले पेप ग्वार्डिओलाको सामना गरिसकेका छन् । सो भिडन्तमा जेरार्डको टिम पराजित भयो । अब एनफिल्डमा लिभरपुलविरुद्धको खेल जेरार्डका लागि अर्को परीक्षा हो । यो परीक्षाका लागि आफू तयार रहेको सन्देश दिएका छन्, जेरार्डले । 

‘भिल्लाको नेतृत्व गरेर म लिभरपुल जाँदैछु । जहाँ मैले धेरै वर्ष बिताएको छु । यो खेलका कारण म प्रशन्‍न छु । लिभरपुल मेरो सहर हो । लिभरपुल फुटबल क्लबलाई समर्थन गर्छु । सधैँ गरिरहने छु,’ १७ वर्ष लिभरपुलमा बिताएका जेरार्डले भने । 

लिभरपुलसँग आफ्नो सम्बन्ध न्यानो रहेको र शनिबारको खेलको नतिजाले आफूलाई लिभरपुल समर्थकमाझ अलोकप्रिय बनाए पनि फरक नपर्ने जेरार्डको भनाइ थियो । ‘शनिबारको नतिजाका कारण एनफिल्डमा रहेका लिभरपुल समर्थकमाझ म अलोकप्रिय बने भने पनि मलाई कुनै पर्ने छैन,’ जेरार्डले स्पष्ट पारे । 

उनले लिभरपुलसँगको खेल असाध्यै कठिन हुने र मोहम्मद सलाह हाल विश्व फुटबलकै सर्वोत्कृष्ट खेलाडी रहेको पनि भन्‍न भ्याए । ‘लिभरपुल हाल उत्कृष्ट लयमा छ । अनि सलाह शत प्रतिशत रुपमा विश्वको सर्वोत्कृष्ट खेलाडी हुन् । तर हामीले आत्मविश्वासका साथ खेल्न जरुरी छ,’ जेरार्डले भने । 
 


Author

थप समाचार
x