स्पेनिस ला लिगा
उत्साहित रियलविरुद्ध संर्घषरत एट्लेटिको
काठमाडौँ- स्पेनिस ला लिगामा यसपालि रियल मड्रिड बाँकी टिमभन्दा अघि छ । रियलको खातामा १५ खेलबाट ३९ अंक छ । रियल लिग लिडर बन्नु कुनै अचम्मलाग्दो घटना होइन । तर रियललाई नजिकबाट पछ्याउने टिमको सूचीमा बार्सिलोना वा एट्लेटिको मड्रिड नहुनु चाहिँ सामान्य होइन ।
बार्सिलोना हाल आठौँ स्थानमा छ । अरु टिमभन्दा दुई खेल कम खेलेको बार्सिलोनासँग २३ अंक छ । अनि एट्लेटिको भने बार्सिलोनाभन्दा चार स्थानमाथि छ । चौथो स्थानमा रहेको च्याम्पियन एट्लेटिकोको खातामा २९ अंक छ । लिगको दोस्रो र तेस्रो स्थानमा क्रमशः सेभिया र रियल बेटिस छन् ।
रियल र एट्लेटिकोबीचको दूरी १० अंकको छ । यद्यपि एट्लेटिकोले उपाधि होडबाट आफूलाई अलग गरिसकेको छैन । एट्लेटिकोसँग आफ्नो आत्मविश्वासलाई बलियो बनाउने मौका छ । किनभने डिएगो सिमओनेको टिम आइतबार राति रियलसँग आमनेसामने हुँदैछ ।
तर रियलसँगको खेललाई लिएर एट्लेटिकोका समर्थक उत्साहित नहुन सक्छन् । यसको कारण एट्लेटिकोको वर्तमान लय हो । एन्टाइन ग्रिजमनको पुनरागमन र रोड्रिगो डे पयलको आगमनसँगै एट्लेटिकोले आफू बलियो भएको महशुस गरेको थियो । तर एट्लेटिकोको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन । गत साता मात्रै एट्लेटिको कमजोर मानिने मर्योकासँग हार्यो ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेर मर्योकासँगको हारलाई भुल्ने प्रयास गरेको एट्लेटिकोका प्रशिक्षक सिमओनेले आफ्नो टिमले समर्थकहरूलाई खुशी पार्न नसकिरहेको स्विकार गरेका छन् । ‘समर्थकहरू हामीबाट थप सुदृढ प्रदर्शनको आश राखिरहेका छन् । यो सामान्य हो । यसले हामीलाई प्रेरणा पनि दिन्छ,’ सिमओनेले भनेका छन् ।
सान्टियागो बर्नाबाउमा हुने खेलका लागि एट्लेटिकोसँग लुइस स्वारेज हुने छैनन् । जारी लिगमा एट्लेटिकोका लागि सात गोल गरेका स्वारेज एफसी पोर्टोसँगको खेलमा घाइते बनेका थिए । अनि केइरन ट्रिपियर, जोसे गिमिनेज र स्टेफन साभिचले पनि खेल्ने नखेल्ने टुंगो छैन । पोर्टोविरुद्धको भिडन्तमा यी खेलाडीहरू अनुपस्थित थिए ।
उता रियल भने बलियो लयमा छ । च्याम्पियन्स लिगको समूह चरणको आफ्नो अन्तिम खेलमा एन्टर मिलानलाई हराएको रियल पछिल्ला नौ खेलमा अपराजित छ । दोस्रो पटक रियलको प्रशिक्षक बनेका कार्लो एनसिलोट्टी आत्मविश्वासी देखिन्छन् । यसको एउटा कारण करिम बेन्जेमा पनि हुन् । जसले लिगमा १२ गोल गरिसकेका छन् । हुन त बेन्जेमा एट्लेटिकोसँगको खेलमा अनुपस्थित रहने सम्भावना छ । चोटका कारण उनले इन्टरविरुद्धको खेल गुमाएका थिए ।
बेन्जेमाले खेल्न नपाए भिनिसियस जुनियरले रियलको अग्रपंक्तिको नेतृत्व गर्नेछन् । यो सिजन उनले पनि असाधारण प्रदर्शन गरिरहेका छन् । ड्रिब्लिङ गर्दै तीव्र गतिमा खेल्न सक्ने ब्राजिलियन युवा फरवार्ड भिनिसियसले ला लिगामा १० गोल गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया