बार्सिलोना युवा खेलाडीहरूको भरमा मात्रै अगाडि बढ्न सक्दैनः जाभी
काठमाडौँ- स्पेनिस ला लिगामा शनिबार राति ओसासुनाले बार्सिलोनालाई बराबरीमा रोक्यो । एस्टाडियो एल सादरमा भएको खेलमा बार्सिलोनाले दुई पटक अग्रता लिए पनि ओसासुनाले क्याट्लन क्लबलाई २–२ को बराबरीमा रोक्न सफल भयो । निको गोन्जोलेजले १२ औँ मिनेटमा बार्सिलोनाको पहिलो गोल गरेका थिए । तर दुई मिनेटपछि नै डेभिड गार्सियाको गोलमार्फत ओसासुना खेलमा फर्कियो ।
दोस्रो हाफको ४९ औँ मिनेटमा अब्देसामाद एज्जालजुलीले बार्सिलोनालाई २–१ को स्थितिमा पुर्याए । तर निर्धारित समय सकिन चार मिनेट रहेका बेला ओसासुनाका एजिकेल एभिलाले गोल गरेपछि खेल २–२ मा टुंगियो । जारी लिगमा बार्सिलोनाका लागि यो छैटो बराबरी हो । १६ खेल खेलेको बार्सिलोना २४ अंक बटुल्दै आठौँ स्थानमा छ ।
खेलपछि प्रतिक्रिया दिँदै बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले युवा खेलाडीहरूले मात्र टिमको उद्दार गर्न नसक्ने प्रतिक्रिया दिए । ‘हाम्रो टिममा हाल १७, १८, १९ वर्षका खेलाडीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । टिममा उनीहरूको उपस्थिति भविष्यका लागि सुखद संकेत हुन सक्छ । तर अहिलेका लागि भने उनीहरूले दबाबमुक्त भएर खेल्न पाइरहेका छैनन् । अनि हामीले बुझ्नु पर्ने तथ्य के हो भने यी युवा खेलाडीहरूको भरमा मात्रै बार्सिलोना आफ्नो स्वभाविक स्थानमा पुग्न सक्दैन,’ जाभीले भनेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया