फुटबल

सहिद स्मारक लिग अब पोखरामा पनि

इकागज |
मंसिर २७, २०७८ सोमबार १३:५३ बजे

तस्बिर : सुदर्शन रञ्जित

काठमाडौँ- काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका केही खेल पोखरामा पनि हुने भएका छन् । लिगका पाँचौँ, सातौँ र आठौँ चरणका एक–एक खेल पोखरा रंगशालामा खेलाइने भएको हो । ती तीनै खेलमा मनाङ मस्र्याङ्दी क्लब घरेलु टिमका रूपमा रहनेछ । मनाङले नेपाल पुलिस क्लब, बिग्रेड ब्योइज क्लब र च्यासल युथ क्लबसँगका खेलहरू पोखरामा हुनेछन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पाँचौँ, छैटो, सातौँ, आठौँ र नवौँ चरणका लागि खेल तालिका सार्वजनिक गरेको हो । यो तालिका अनुसार मनाङले पाँचौ चरणमा पुलिसविरुद्धको खेल पोखरामा खेल्नेछ । यो खेल पुस ३ मा हुनेछ । यसैगरी पुस १७ मा मनाङ र ब्रिगेड ब्योइजबीचको खेल पनि पोखरामा हुनेछ । आठौँ चरणको खेलमा भने मनाङले च्यासलको सामना गर्नेछ । यो खेल पुस २४ मा हुनेछ । 


दशरथ रंगशालामा जारी लिग चौथो चरणको उत्तर्राद्धमा छ । सोमबार चौथो चरणका अन्तिम खेल हुँदैछन् । पुस २ बाट पाँचौँ चरण सुरु हुनेछ । यो चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिनको दोस्रो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लब आमनेसामने हुनेछन् । पोखरामा हुने तीन खेलबाहेक बाँकी सबै खेल दशरथ रंगशालामा हुनेछन् । 
  
 


Author

थप समाचार
x