फुटबल

आर्सनलको कप्तानबाट आबुमेयाङ बर्खास्त

इकागज |
मंसिर २८, २०७८ मंगलबार १८:२९ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको आर्सनलले पेयरिक एमेरिक आबुमेयाङलाई मंगलबार कप्तानबाट हटाएको छ । अनुशासन उल्लंघन गरेको भन्दै आबुमेयाङलाई कप्तानको जिम्मेवारीबाट मुक्त गरिएको आर्सनलको भनाइ छ । अनुशासन पालना नगरेको आरोपमा आबुमेयाङलाई पछिल्लो लिग खेलमा खेलाइएको थिएन । उनलाई वेस्टह्यामसँग बुधबार हुने खेलमा पनि टिममा नराखिने बताइएको छ । 

‘हामी टिमका सबै खेलाडीले अनुशासन पालना गरुन् भन्ने चाहन्छौँ । झन् कप्तान त उदाहरणीय हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ आर्सनलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । गाबोनको ३२ वर्षीय स्ट्राइकर आबुमेयाङले कुन नियम उल्लंघन गरे भन्नेबारे खुलाएको छैन । 


तर बेलायतको दी एथ्लेटिकका अनुसार आबुमेयाङले क्लबले दिएको बिदाभन्दा बढी समय इंग्ल्यान्ड बाहिर बिताएको र फर्कदा कोभिड–१९ सम्बन्धि प्रोटोकल पालना नगरेपछि आर्सनल प्रशासन आक्रोशित बनेको हो । आबुमेयाङ कारबाहीमा परेको यो पहिलो पटक भने होइन । गत मार्चमा पनि उनलाई अभ्यासमा ढिलोगरी पुगेको निहुँमा कारबाही गरिएको थियो । कारबाही स्वरुप उनलाई टोटनहमसँगको खेलका लागि टिममा राखिएको थिएन । 

आबुमेयाङ सन् २०१८ मा बोरुसिया डर्टमन्डबाट आर्सनल पुगेका थिए । उनले आर्सनलको जर्सीमा १६३ खेल खेल्दै ९२ गोल गरेका छन् । यो सिजन उनले १४ लिग खेलमा चार गोल गरेका छन् । 
 
   
 


Author

थप समाचार
x