फुटबल

सर्जियो अग्वेरोले लिए सन्‍न्यास

इकागज |
मंसिर २९, २०७८ बुधबार १८:१२ बजे

काठमाडौँ- अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर सर्जियो अग्वेरोले सक्रिय खेल करियरबाट सन्‍न्यास लिएका छन् । स्वास्थ्य समस्याका कारण अग्वेरोले बुधबार साँझ सन्‍न्यासको घोषणा गरेका हुन् । ३३ वर्षीय अग्वेरोको मुटुमा समस्या देखिएको छ । 

स्पेनिस ला लिगामा अक्टोबर ३० मा अलाभेससँगको खेल दौरान उनले छाती दुखेको भन्दै मैदान छाडेका थिए । त्यसपछि उनको मुटुको जाँच गरिएको थियो । थप जाँचपछि अग्वेरोलाई चिकित्सकहरूले फुटबल नखेल्ने सुझाएको बताइएको छ । उनले सोही सुझाव मान्दै बुधबार क्याम्प नौउमा आयोजित पत्रकार सम्मेलनमा आफूले सन्‍न्यास लिएको निर्णय सुनाए । 


‘मेरो इच्छा बार्सिलोनामै रहने, टिम र साथीहरूलाई सहयोग गर्ने थियो । तर इच्छा राखेर मात्रै नहुने रहेछ,’ पारिवारिक सदस्य, बार्सिलोना बोर्डका सदस्य तथा साथी खेलाडीहरू समेत उपस्थित पत्रकार सम्मेलनमा अग्वेरोले भने । 

अग्वेरो यसै सिजन मात्रै बार्सिलोना पुगेका हुन् । इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीमा १० वर्ष बिताएर स्पेन फर्किएका अग्वेरो कुनैबेला मड्रिडकै एट्लेटिको मड्रिडको खेलाडी थिए । अग्वेरो सिटीका लागि मात्रै होइन प्रिमियर लिगमै सर्वोत्कृष्ट स्ट्राइकर दरिएका थिए । उनले सिटीको जर्सीमा कुल २६० गोल गरे । यो सिटीको इतिहासमै कुनैपनि खेलाडीले गरेको सर्वाधिक गोल हो । 

उनले प्रिमियर लिगमा मात्रै १८४ गोल गरे । जसमा १२ ह्याट्रिक सम्मिलित छन् । आबुधाबीको शाही परिवारले स्वामित्व लिइसकेपछि सिटीले पहिलो पटक लिग जित्दा अग्वेराको भूमिका महत्वपूर्ण रह्यो । अन्तिम दिनसम्म पुगेको उपाधि दौडमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन बन्नबाट रोक्न अग्वेरोकै गोल निर्णायक सावित भयो । क्विन पार्क रेन्जर्सविरुद्धको त्यो गोल अग्वेरोले आतिरिक्त समयमा गरेका थिए ।  

करियरको उत्तर्राद्धमा सिटीबाट बार्सिलोना पुगेका अग्वेरोले त्यहाँ भने पाँच खेल मात्रै खेल्न भ्याए । बार्सिलोनामा आफ्नो क्षमता प्रमाणित गर्न समय नपाए पनि उनले राष्ट्रिय टिमका लागि भने सम्झनलायकको प्रदर्शन गरेका छन् । सन् २००६ मा अर्जेन्टिनाको सिनियर टिममा डेब्यु गरेका अग्वेरोले ९७ खेलमा ४१ गोल गरेका छन् । यो तथ्यांकले उनलाई अर्जेन्टिनाको तेस्रो उच्च गोलकर्ता बनाएको छ । 

अर्जेन्टिनाको युवा टिमबाट दुई उपाधि जितेका अग्वेरोले सिनियर टिमबाट भने एक एउटा मात्रै ट्रफी जित्न सके । त्यो हो, कोपा अमेरिका । लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ब्राजिलमा आयोजित कोपा अमेरिका जित्दा अग्वेरो पनि टिमका सदस्य थिए । भलै च्याम्पियन टिममा उनको भूमिका सीमित थियो । 

युरोपियन क्लब फुटबलमा नाम बनाएका अग्वेरो सानै उमेरमा अर्जेन्टिनाको घरेलु फुटबलमा उदाएका थिए । उनले अर्जेन्टिनाको शीर्ष श्रेणीमा १५ वर्षको उमेरमै डेब्यु गरेका थिए । ब्युनोस आयर्सको क्लब इन्डिपेनडिएन्टेबाट करियर सुरु गरेका अग्वेरोको चाहना थियो, सुरुवात गरकै स्थानबाट कयिरको अन्त्य गर्ने । तर उनको यस्तो चाहना पूरा नहुने भएको छ । 

सर्जियो अग्वेरोले जितेका ट्रफीः 
एट्लेटिको मड्रिड– युरोपा लिग (१), युईएफए सुपर कप (१)
म्यानचेस्टर सिटी– प्रिमियर लिग (५), एएफ कप (१), लिग कप (६), कम्युनिटी शिल्ड (३)
अर्जेन्टिना अन्डर २०– फिफा अन्डर २० विश्वकप (२)
अर्जेन्टिना अन्डर २३– ओलम्पिक स्वर्ण 
अर्जेन्टिना सिनियर टिम– कोपा अमेरिका कप (१) 


Author

थप समाचार
x